काठमाडौं । सिरि ए फुटबलको लिग च्याम्पियन युभेन्ट्सले पछिल्लो खेलमा हार ब्यहोरेको छ । बुधबार राति युभेन्ट्सले काग्लियारीसंग २–० को हार ब्यहोरेको हो । खेलको आठौं मिनेटमा लुका गागलियानोले घरेलु टोली काग्लियारीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा जियोवन्नी सिमोनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा दुवैतर्फबाट थप गोल हुन नसकेपछि च्याम्पियन युभेन्ट्सले हारको नतिजा ब्यहोरेको हो । युरोपेली क्लब फुटबलमा सर्वाधिक गोलको दौडमा रहेका रोनाल्डोका लागि बुधबारको रात निराशाजनक रह्यो ।
उनी काग्यिारीबिरुद्ध गोल गर्न असफल रहे । उनी ३१ लिग गोल गर्दै सिरि एमा सर्वाधिक गोलकर्ताको दौडमा दोस्रो स्थानमा थिए । तर युरोपको गोल्डेन बुटको दौडमा रोनाल्डो सिरि ए क्लब लाजियोकै फरवार्ड सिरो ईम्मोबिलसंंग चार गोलले पछि परेका छन् ।
ईम्माेबिलले सिरि एको यस सिजनमा ३५ गोल गर्दै सर्वाधिक गोलकर्ताको दौडमा शीर्ष स्थानमा छन् । राेनाल्डाेका लागि यस सिजन गाेल्डेन बुटकाे सम्भावना लगभग सकिएकाे छ ।
सिरि एमा अब मात्र एक खेल बाँकी छ । ईम्मोबिलले युरोपेली क्लब फुटबलका सार्वाधिक गोलकर्ताको दौडमा अग्रता लिएका छन् । उनले बुन्डेसलिगा क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई समेत पछि पारेका छन् । लेवान्डोस्कीले यस सिजन ३४ गोल गरेका थिए ।
ईम्मोबिल सिरि एको एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गर्न मात्र एक गोलले पछि छन् । सन् २०१५–१६ को सिजनमा गोन्जालो हिग्विनले नापोलीबाट एकै सिजनमा सर्वाधिक ३६ गोलकाे कीर्तिमान कायम गरेका थिए । शीर्ष स्थानको युभेन्ट्सको ८३ अंक छ । काग्यिारी ४५ अंक सहित १३ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार
Comments