काठमाडौं । च्याम्पियन्स लिगमा छनोट हुने लाजियोको १३ बर्षको प्रतिक्षा सकिएको छ । बिहिबार राति काग्लियारीमाथि २–१ को जित निकाल्दै लाजियोले अर्को सिजनको च्याम्पियन्स लिगमा आफुलाई सुरक्षित गरेको छ ।
सिरो ईम्मोबिलले लाजियोलाई च्याम्पियन्स लिगमा छनोट मात्र गराएनन्, गोल्डेन बुटको दौडमा क्रिस्टियानो रोनाल्डोलाई समेत उछिने ।
उनको निर्णायक तथा सिजनको ३१ औं गोलमा लाजियोले काग्लियारीलाई २–१ गोल अन्तरले हरायो । खेलमा अग्रता भने ४५ औं मिनेटमा जियोवन्नी शिमोनको गोलमा पाहुना टोली काग्लियारीले बनाएको थियो ।
सेर्गेई मिलिन्कोविचले ४७ औं मिनेटमा लाजियोलाई खेलमा फर्काएका थिए । ६० औं मिनेटमा सिरो ईम्मोबिलको गोलमा लाजियोले पुनरागमन जित निकाल्यो ।
लाजियोले पाँचौ स्थानको रोमासंग ११ अंकको अग्रता निकाल्यो । लिगमा अब तीन चरणको खेल खेल्न बाँकी छ । लाजियो ७२ अंक सहित चौथो स्थानमा रह्यो । रोमा ६१ अंक सहित पाँचौ स्थानमा रह्यो । काग्लियारी ४२ अंक सहित १३ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७७ साउन ०९ शुक्रबार
Comments