काठमाडौं । बंगलादेश फुटबल महासंघले राष्ट्रिय फुटबल टिमको प्रारम्भिक प्रशिक्षण अगष्टको पहिलो साताबाट थाल्ने भएको छ । दक्षिण एसियाली मुलुक बंगलादेशले कोरोना महामारीका बीच ठप्प रहेको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने जनाएको हो ।
बंगलादेश फुटबलले राष्ट्रिय टिममा रहेका ३० खेलाडीलाई कोरोना भाईरस कोभिड–१९ को परिक्षण गरेपछि मात्र प्रशिक्षणमा सहभागी गराउने बताएको छ ।
उसले खेलाडीलाई साराह रिसोर्ट गजिपुरको क्लोज क्याम्पमा राखेपछि पनि नियमित रुपमा परिक्षण गरिने बताएको छ । खेलाडीमा परिक्षण गर्दा कोरोना पुष्टि देखिएमा टिम बाहिर राखिने महासंघले जनाएको छ ।
बंगलादेशले राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने बताएपनि पूर्णकालिन प्रशिक्षण अगष्ट २१ बाट मात्र सुरु हुनेछ । त्यसअघि खेलाडीलाई क्वारेन्टिनमा राखिनेछ । महासंघले खेलाडीलाई ६–७ जनाको समुहमा राखेर प्रारम्भिक प्रशिक्षण गर्ने बताएको छ ।
तोकिएको समयमा अभ्यास सुरु गरेमा बंगलादेश कोरोना महामारीपछि फुटबलमा फर्कने दक्षिण एसियाको चौथो देश बन्नेछ । यसअघि भुटान, माल्दिभ्स र श्रीलंकाले राष्ट्रिय फुटबल टिमको तयारी सुरु गरिसकेका छ । अखिल नेपाल फुटल संघ ९एन्फा०ले समेत आफ्नो तयारी सुरु गर्ने बताएपनि सरकारबाट स्वीकृती पाउन सकेको छैन ।
कतार विश्वकप २०२२ को एसिया छनोट अन्तर्गत बंगलादेश समूह ई मा रहेको छ । चार खेल खेलको बंगलादेश पुछारमा रहँदै १ अंक जोडेको छ । अहिले बंगलादेशका करिब २ लाखमा कोरोना संक्रमित देखिएका छन् । करिब २६ सयले ज्यान गुमाईसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०३ शनिबार
Comments