काठमाडौं । प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा नेपालले थप २ रजत र १ कांस्य जितेको छ ।
प्रतियोगिताको अन्तिम दिन पुम्सेतर्फ १८–३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जिते । यसैगरी, महिला १५–१७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् ।
यो सहित प्रतियोगितामा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य जितेको एनटीएका अध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन् ।
यसअघि मधु सापकोटाले ४० वर्षमाथि स्वर्ण तथा प्रगति कुइकेलले १३–१४ वर्ष र आयुश बोहराले १५–१७ वर्षमा रजत जितेका थिए । १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारेका थिए ।
पदक विजेता सबै खेलाडी नेप्लिज तेक्वान्दो एकेडेमी एनटीएका हुन् । प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन् । प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रकाशित मितिः २०७७ असार ३१ बुधबार
Comments