काठमाडौं । इंमोहमद सालाह चम्किएको खेलमा लिभरपुलले प्रिमियर लिग फुटबलमा ब्राईटनलाई हराएको छ ।
एनफिल्ड स्टार सालाहले दुई गोल गरेको खेलमा बुधबार राति लिभरपुलले ब्राईटनलाई ३–१ गोल अन्तरले हराएको हो ।सालाहले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाए । कप्तान जोर्डन हेन्डरसनले आठौं मिनेटमा पाहुना लिभरपुलको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अन्तिम मिनेटमा लिन्ड्रो ट्रोसर्डले गोल गर्दै ब्राईटनलाई खेलमा फर्काउने संकेत गरेका थिए । तर सालाहले ७६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए ।
यस सिजनको च्याम्पियन लिभरपुलले महत्वपूर्ण तीन अंक बटुलेको छ । जितसंगै लिभरपुल कीर्तिमानी अंकतर्फ अघि बढेको छ । लिभरपुल यस सिजन सिटीले कायम राखेको सय अंकको कीर्तिमान पार गर्न चाहन्छ ।
लिभरपुलले यस सिजन ३४ मध्य ३० खेलमा जित हासिल गरेको छ । जसमा दुई बराबरी र दुई हारको नतिजा रहेको छ । शीर्ष स्थानको लिभरपुलले ९२ अंक बटुलेको छ । उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग २३ अंकको अग्रता लिएको छ । ब्राईटोन ३६ अंक सहित १५ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ असार २५ बिहिबार
Comments