काठमाडौं । फ्रायङ्क लामपार्डको चेल्सीले गएराति क्रिष्टल प्यालेसलाई ३–२ ले हराउँदै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। भ्रमणकारी चेल्सीले छैटौं मिनेटमा ओलिभर जिरौडको गोलबाट अग्रता लिएको थियो। जिरौडले विलियानको पासमा गोल गरेका थिए। विलियनकै पासमा क्रिष्टियन पुलिसिकले २७औं मिनेटमा चेल्सीको अग्रता दोब्बर बनाए।
३४औं मिनेटमा विलफ्रिड जाहको गोलबाट क्रिष्टल प्यालेसले खेलमा पुनरागमन गर्ने प्रयास गर्यो। तर, चेल्सीका टमी अब्राहमले ७१औं मिनेटमा अर्को थपेपछि क्रिष्टल प्यालेस थप दबाबमा पर्यो। त्यसको एक मिनेट बित्न नपाउँदै क्रिष्टियन बेन्टेकेले अर्को गोल फर्काए पनि क्रिष्टल प्यालेसले थप गोल गर्न नसक्दा चेल्सीसँग अंक खोस्न सकेन।
जितसँगै चेल्सी ३४ खेलबाट ६० अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको लेस्टरले आर्सनलसँग बराबरी खेलेपछि चौंथो स्थानमा झरेको छ। क्रिष्टल प्यालेस भने ४२ अंकका साथ १४औं स्थानमा छ। एजेन्सी
प्रकाशित मितिः २०७७ असार २४ बुधबार
Comments