काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविच कोरोना भाइरसबाट संक्रमित भएका छन् । सर्बियन जोकोविच संक्रमण पुष्टि हुने पछिल्लो टेनिस खेलाडी हुन् । उनले आफूमा संक्रमण पुष्टि भएको जानकारी दिँदै क्षमा मागेका छन् ।
ग्रिगोर दिमित्रोभ, बोर्ना कोरिक र भिक्टर ट्रोइकीमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबै जोकोविचको एड्रिया टूर कम्पिटिसनमा सहभागी भएका थिए । त्यसपछि उनीहरुमा पनि संक्रमण देखिएको हो ।
३३ वर्षका जोकोविचले सर्बियाकै खेलाडी ट्रोइकीसँग पहिलो खेल बेलग्राडेमा खेलेका थिए । जोकोविचले ट्वीट गरेर प्रतिस्पर्धा सुरु गर्नु अति चाँडो भएको बताएका छन् । उनले आफूले गरेको खेलका कारण अरु खेलाडी पनि संक्रमित भएकोमा माफी मागेका छन् ।
पवित्र हृदय र राम्रो सोचका साथ गरिएको प्रतिस्पर्धामा सबै स्वास्थ्य सावधानीहरु अपनाइएको उनले स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘हामी गलत भयौँ र यो अति चाँडो भयो ।’
प्रकाशित मितिः २०७७ असार १० बुधबार
Comments