काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
पछिल्लो नतिजासंगै उपाधि होडमा बार्सिलोनालाई गम्भिर धक्का लागेको छ । उसले लिगमा ५ अंकको अग्रता बनाउने अवसर गुमाएको छ । अब लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडले तालिकामा एक अंकको अग्रता बनाउने अवसर पाएको छ । रियल मड्रिड आईतबार रियल सोसिडाडको भ्रमणमा निस्कदैछ ।
पहिलो हाफमा मेस्सीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । तर बार्सिलोनालाई सेभियाको रक्षापङ्तीले दुख दिएको थियो ।बार्सिलोनाले दोस्रो हाफको ७६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानलाई समेत मैदान उतारेको थियो । तर उनले समेत कुनै प्रभाव छाड्न सकेनन् ।
मेस्सीले शुक्रबार राति करियरको ७ सयौं गोलको कोशेढुङ्गा छुन असफल रहे । लिग लिडर बार्सिलोनाले आगामी मंगलबार एट्लेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्नेछ । बार्सिलोना ६५ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियलको ६२ अंक छ । सेभिया ५२ अंक सहित तेस्रो स्थानमा छ ।
अन्य खेलमा मालोर्का र लेगानेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । रेलिगेशन जोनमा रहेका दुवै टिमले अंक बाँड्दै अर्को सिजन घटुवा हुने संकेत गरेका छन् ।
अर्को खेलमा भिल्ला रियलले ग्रानाडालाई १–० ले हरायो । भिल्ला रियल ४७ अंक सहित सातौ स्थानमा उक्लियो । ग्रानाडा ४२ अंक सहित नवौं स्थानमा रह्यो । जेन्सी
प्रकाशित मितिः २०७७ असार ६ शनिबार
Comments