काठमाडौं । म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले प्रिमियर लिगको पहिलो खेलमा टोटेनहमबिरुद्ध खेल्न आफ्ना खेलाडी तयार रहेको बताएका छन् ।
उनले प्रिमियर लिगको पहिलो खेलमा मैदान फर्कदै गर्दा आफ्ना खेलाडी उच्च मनोबलका साथ टोटेनहमबिरुद्धको खेलमा उत्रने बताएका हुन् । कोरोना भाईरसको महामारीका कारण ईङ्ल्याण्डको फुटबल मार्चको मध्यबाट स्थगित अवस्थामा रहेको छ । क्लबहरु जुन १७ बाट अबरुद्ध सिजन पुन सुरु गर्न तयार देखिएका छन् । युनाईटेडले जुन १९ मा टोटेनहमको भ्रमण गर्दैछ ।
सोल्सायरले सिजनको पहिलो खेलमा मैदान उत्रदै गर्दाको मनस्थिती टोटेनहमबिरुद्धको खेलमा देखिने बताए । सिजनको पहिलो खेलमा युनाईटेडले चेल्सीलाई ४–० ले हराएको थियो । ‘यस खेललाई निकै अघिबाट हेरिरहेका छौ ।’ सोल्सायरले भनेका छन्, ‘दुई हप्तामा हाम्रो पहिलो खेल रहेको छ । त्यसैले प्रशिक्षण अघि बढाउन र आफ्नो खेलको लयलाई पुन हासिल गर्न आवश्यक रहेको छ ।’
‘सबैलाई थाहा छ, हामीलाई सबैभन्दा राम्रो अवस्थामा रहन आवश्यक छ । ध्यान केन्द्रित गर्न आवश्यक छ । हामी सबैलाई थाहा छ, यो ठुलो खेल हो ।’ सोल्सायरले भनेका छन् । ‘सिजनको पहिलो खेल चेल्सीबिरुद्ध खेलेका थियौ । मलाई विश्वास छ, हाम्रा खेलाडी सोही आत्मविश्वासका साथ मैदानमा जानेछन् र राम्रो फुटबल खेल्नेछन् ।’ उनले थपे ।
युनाईटेड प्रिमियर लिगको पाँचौ स्थानमा रहेको छ । सिजन अबरुद्ध हुनुअघि युनाईटेड पछिल्ला ११ खेलमा अपराजित रहेको छ । ‘प्रशिक्षणमा हामीले गरेका राम्रो कुरा बताएका छौ । केही एक दुई कुरामा जोड दिनेछौ । केही नयाँ विचार देख्न चाहन्छौ ।’ सोल्सायरले भने, ‘आशा छ, लकडाउन अगाडी अन्तिममा जे चिज देखिएको थियो, हामी अझ धेरै चिज देख्न सक्नेछौ ।’ एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ २५ आइतबार
Comments