काठमाडौं । कोरोना भाईरसको महामारीबीच सुचारु जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक एक गोल गरे ।
बायर्नले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । खेलको १५ औं मिनेटमा डुसलडोर्फका माथिआस जोर्गेनसनको आत्मघाती गोलबाट बायर्नले अग्रता बनाएको थियो ।
२९ औं मिनेटमा पाभर्डले गोल गर्दा बायर्नको अग्रता दोब्बर बन्यो । ४३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफमा बायर्न ३-० ले अघि रह्यो ।
५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो । त्यसपछि खेलको ५२ औं मिनेटमा डेभिसले गोल गर्दै बायर्नलाई ५-० को फराकिलो जित दिलाए ।
यस जितसँगै कोरोनाको कारण स्थगित लिग सुचारुपछि बायर्नले लगातार तेस्रो जित निकाल्न सफल भएको छ । जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्धको अग्रता समेत फराकिलो बनाएको छ ।
उपाधितर्फ अघि बढेको बायर्नले डर्टमण्डविरुद्ध १० अंकको अग्रता बनाएको हो । बायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्डको ५७ अंक रहेको छ । डुसलडोर्फ २७ अंकसहित १३ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १८ आइतबार
Comments