काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुलले साडियो मानेसंग सम्झौता नविकरणको तयारी गरेको छ । स्पेनिस महारथी क्लब रियल मड्रिडले सेनेगल फरवार्डमाथि चासो देखाईरहेको समय एनफिल्ड क्लबले मानेसंग नयाँ सम्झौताको तयारी गरेको हो ।
मानेको सम्पूर्ण फुटबल करियर एनफिल्डमै लगाउने लक्ष्य सहित लिभरपुलले नयाँ सम्झौताको तयारी गरेको छ । उनलाई रियल मड्रिडले समेत यस समर ट्रान्सफरमा अनुबन्धको ईच्छा राखेको छ । लिभरपुल स्टार माने प्रशिक्षक योर्गेन क्लोप नेतृत्वको टिमका मुख्य सदस्य हुन् ।
मानेको लिभरपुलसंगको सम्झौता सन् २०२३ मा सकिदैछ । सो समय माने ३१ बर्षका हुनेछन् । उनले लिभरपुलकातर्फबाट च्याम्पियन्स लिग जित्नुका साथै वालेन डी ओरमा शीर्ष चारभित्र परेपछि क्लबसंग नयाँ सम्झौता गरेका थिए ।
उनी सन् २०१८÷१९ को सिजन अफ्रिकन फुटबलर्स अफ दी ईयर बनेका थिए । साथै उनले सहकर्मी मोहमद सलाहाको ईजिप्टको दबदबालाई पन्छाउँदै आफुलाई बर्षभरी अफ्रिकन फुटबलमा चर्चामा राखेका थिए ।
साउथह्याम्टनका पूर्व खेलाडी मानेले यस सिजन १४ गोल गर्नुका साथै ९ गोलको अवसर सिर्जना गरेका थिए । सोही कारण प्रिमियर लिगमा लिभरपुलले आफ्नो एकल दबदबा बनाउन सफल भएको छ ।
मानेले लिभरपुलका लागि १ सय ६१ खेलमा ७७ गोल गर्नुका साथै ३४ गोलको अवसर सिर्जना गरेका थिए । उनी प्रिमियर लिग उपाधिको समेत नजिक पुगेका छन् । लिगमा ९ चरणको खेल बाँकी रहँदा उपाधि जित्न लिभरपुललाई मात्र दुई जित आवश्यक छ । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २९ सोमबार
Comments