काठमाडौं । म्यान्चेष्टर युनाईटेडले विदेशी खेलाडीलाई ईङ्ल्याण्ड फर्कन आग्रह गरेको छ । सम्भावित अभ्यास सत्रलाई लक्षित गर्दै युनाईटेडले घरमै एकान्तवासमा रहेका खेलाडीलाई ईङ्ल्याण्ड फर्कन आग्रह गरेका हो ।
सरकारले सामाजिक दुरी कायम राख्न निर्देशन दिएपछि गत मार्चमा युनाईटेडको अभ्यास सत्र बन्द गरिएको थियो । क्लबले खेलाडीलाई ईङ्ल्याण्ड छाड्न अनुमती दिएको थियो ।
लगत्तै धेरै विदेशी खेलाडीले ईङ्ल्याण्ड छाडेका थिए । उनीहरुले क्लबद्धारा प्रदान गरिएको ब्यक्तिगत फिटनेसको कार्यक्रम भने पुरा गरिरहेका छन् ।
युनाईटेडले पहिलो टिमको अभ्यास सुरु गर्ने मिति टुङ्गो लगाएको छैन । सरकारको सुझाव अनुसार अभ्यास मिति तय गरिने बताईएको छ । तर विदेशमा रहेको खेलाडीलाई आगामी हप्ताभित्र ईङ्ल्याण्ड फर्कन भनिएको छ ।
गत जनवरीमा अनुबन्धन गरिएका ब्रुनो फर्नान्डिस आफ्नी पत्नी र छोरीसंग पोर्चुगल गएका थिए । अन्य खेलाडीहरु भिक्टर लिन्डेलोफ स्विडेनमा, फ्रेड ब्राजिल र सर्जियो रामेरो अर्जेन्टिनामा रहेका छन् ।
प्रिमियर लिगले अवरुद्ध सिजन पुन सुरु गर्ने मिति तय गरेको छैन । तर केही क्लबले प्रशिक्षण सुरु गरिसकेका छन् । प्रिमियर लिग आगामी जुनमा सुरु गर्ने लक्ष्य सहित तयारी गरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २४ बुधबार
Comments