काठमाडौं । लियोनल मेस्सीले समर ट्रान्सफरमा नेयमारलाई भित्र्याउन क्लबमाथि जोड दिएका छन् । बार्सिलोनाले नयाँ सिजनका लागि नेयमार सहित ईन्टर मिलानका फरवार्ड लौटेरो मार्टिनेजलाई अनुबन्धको प्रयास गरिरहेको छ ।
क्लबले दुवै खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै छलफल प्रक्रिया अघि बढाएको छ । विश्वमा महामारीको फैलिएको कोरोना भाईरसको कारण आर्थिक संकटबाट गुज्रिरहेको क्लबलाई दुई ठुला स्टारलाई अनुबन्ध गर्न समस्या छ । सोही कारण दुवै खेलाडी यसै सिजन बार्सिलोना आउने सम्भावना अनिश्चित छ ।
बार्सिलोना फरवार्ड मेस्सीले मार्टिनेजको तुलनामा नेयमारलाई प्राथमिकतामा राख्न क्लबलाई सुझाव दिएका हुन् । स्पेनिस रेडियोलाई क्लबका अधिकारीले भनेका छन्, ुयदी मेस्सीले नेयमार र मार्टिनेज मध्य एक छनोट गर्ने अवस्थामा पक्कैपनि ब्राजिली स्टारलाई रोज्नेछन् ।ु
नेयमारले बार्सिलोनाबाट सन् २०१३ देखि २०१७ सम्म खेलेका थिए । उनले मेस्सी र लुईस स्वारेजसंग राम्रो साझेदारी गर्दै १ सय ५ गोल गरेका थिए । त्यसपछि उनी विश्व कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएजी० पुगेका थिए । पछिल्लो सिजन उनी बार्सिलोना फर्कने कोशिश गरिरहेका छन् ।
बार्सिलोना फर्कने अवस्थामा नेयमारको तलबमा भारी कटौती हुने सम्भावना रहेको छ । पीएसजीले उनका लागि बार्षिक ४४ मिलियन पाउण्ड तलबको प्रस्ताव गरेको छ ।
बार्सिलोना अर्जेन्टिनी स्टार मार्टिनेजसंग समेत जोडिएको छ । तर कोरोनाका कारण आर्थिक समस्याले बार्सिलोनामाथि मार्टिनेज अनुबन्धमा प्रश्न उब्जाएको छ । बार्सिलोनाले ईन्टर मिलानका फरवार्ड मार्टिनेजसंग आफ्ना दुई खेलाडी साट्नका लागि प्रस्ताव गरेको छ ।
बार्सिलोनाले दुवै खेलाडीलाई प्राथमिकतामा राख्दै नयाँ सिजनका लागि अनुबन्धको प्रयास गरिरहेको छ । तर दुवै खेलाडीलाई जोड्न आर्थिक व्यवस्थापन गर्नुपर्ने चुनौती बार्सिलोनामाथि छ ।
मेस्सी खेलाडी सरुवा प्रक्रियासंग जोडिएका छैनन् । तर नयाँ खेलाडी अनुबन्धमा उनको चासो छ । सोही कारण उनी नेयमारलाई जोड दिएर समर ट्रान्सफरमा अनुबन्ध गर्नुपर्ने दबाब दिईरहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख १२ शुक्रबार
Comments