काठमाडौंँ । पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले साविक विजेता थ्री स्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० गोलको अग्रता बनाएको छ । खेलको दशौँ मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।
आज दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेका छन् ।
थ्री स्टारले क्वाटरफाइनलमा गान्तोक सिटी एफसी सिक्किमलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगेको हो ।
दुई टोलीबीचको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित मितिः २०७६ फागुन २८ बुधबार
Comments