बैतडी : विगत चार वर्षदेखि अलपत्र रहेको बैतडीको सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट मैदान नगरपालिकाले निर्माण गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्रिकेट मैदान निर्माण सुरु गरी अलपत्र छोडेपछि दशरथचन्द नगरपालिकाले निर्माणको काम सुरु गरेको हो । मैदान अभावका कारण क्रिकेट प्रतियोगिता सञ्चालन गर्न समस्या भएपछि नगरपालिका आफैं क्रिकेट मैदान निर्माणमा जुटेको हो।
गत वर्षबाट निर्माण थालेको मैदान अहिले जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न सकिने खालको भएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए ।
राष्ट्रिय खेलकुद परिषदले करिब ११ करोडको लागत दशथचन्द क्रिकेट रंगशाला निर्माण गर्ने भनी काम सुरु गरेको थियो । सुरुमा राखेपले दिवा चन्द्रा एण्ड वसन्ता जेभीँंग १ करोड ४० लाखमा मैदानको ६० घनमिटर कटान र वाल लगाउने हिसाबले ठेक्का सम्झौता गरेको थियो । राखेपले बजेट नदिँदा निर्माण कार्य चारवर्षसम्म अलपत्र परेको थियो ।
राखेपले सुविधा सम्पन्न स्टेडियम बनाउने भनेपनि निर्माण अलपत्र छोड्दा क्रिकेट खेल सञ्चालन गर्न नसकिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए । अलपत्र छाडेको मैदानलाई नगरपालिकाले सम्याएर खेल्नलायक बनाउने प्रयास गरिरहेको खेलाडी तथा यस क्षेत्रका व्यक्तिहरुलाई खुसी तुल्याएको उनको भनाइ छ।
प्रकाशित मितिः २०७६ फागुन ६ मंगलबार
Comments