काठमाडौं । भारतको हिरो महिला लिग फुटबल खेलेर नेपाली राष्ट्रिय टोलीका फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत स्वदेश फर्किएका छन् । च्याम्पियन टिम गोकुलम केरेलाबाट खेलेकी सावित्रा र सेमिफाइनलसम्म पुगेको सेथु एफसीबाट खेलेकी अनिता सोमबार स्वदेश फर्किएकी हुन् ।
गोकुलमलाई च्याम्पियन बनाउन सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । फाइनलमा सावित्राको निर्णायक गोलले गोकुलमले क्रिप्सा एफसीलाई ३-२ गोल अन्तरले हराएको थियो । अन्तिम केहि मिनेट बाँकी हुँदा सावित्राले गोल गर्दै टोलीलाई च्याम्पियन बनाएकी थिइन् ।
सावित्रा लिगको सर्वाधिक गोलकर्ता समेत बनिन् । सावित्राले कुल १६ गोल गरेकी थिइन् । गत सिजन सेथुले उपाधि जित्दा सावित्राले सेथुका लागि उत्कृष्ट खेलेकी थिइन् ।
अनिताको सेथु भने सेमिफाइनलमा गोकुलमसँग पराजित भएको थियो । लगातार दोस्रो सिजन सेथुबाट खेलेकी अनिताले गोल भने गर्न सकिनन् ।
सावित्रा र अनितालाई एन्फा महिला कमिटिका अध्यक्ष पेमा लामा, राष्ट्रिय महिला टिमका पूर्व प्रशिक्षक हरि खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
प्रकाशित मितिः २०७६ फागुन ०५ सोमबार
Comments