काठमाडौं । हातमा नेपालको झण्डा, हुटिङमा युएसएु ।
यो दृश्य विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालको पहिलो सिरिजको अन्तिम खेलको हो ।
सिरिजको अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै थिए ।
६ ओभर १ बलमा २३ रन बनाएर २ विकेट गुमाएको अमेरिकाले थप १२ रन जोड्न सबै विकेट गुमाएको थियो ।
अमेरिकाले ३५ रन बनाउँदा एकदिवसीय अन्तराष्ट्रियमा सबै भन्दा कम स्कोर बनाउने जिम्बाबेसंग बराबरी गर्यो ।
अमेरिकाको इनिङ्स ध्वस्त बनाउन नेपालका स्पिनरले मुख्य भुमिका खेले । सन्दीप लामिछाने ६ र सुशन भारीले ४ विकेट लिएपछि पहिलो इनिङ्स १२ ओभरमा सकिएको थियो ।
३६ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा नेपालको ओपनिङ जोडी मैदान छिर्दै गर्दा घरेलु समर्थक नेपालको नभएर अमेरिकाको समर्थन गर्दै थिए ।
युएसए, युएसएु
दर्शकदिर्घाबाट सुनिन्थ्यो ।
अमेरिकाका खेलाडीनै अचम्ममा थिए ।
अझ नेपालको विकेट जाँदा समेत नेपाली समर्थक अमेरिकालाई समर्थन गर्दै थिए ।
यस्तो दृश्य विरलै देखिन्छ ।
करिब २-३ सय समर्थकले अमेरिकाको समर्थन गर्दै थिए ।
सायद खेल चाँडै सकिने डर वा अमेरिकालाई चाँडै निरास नबनाउने समर्थकको आशय थियो ।
नत्र नेपालको जर्सी, झण्डा बोकेका समर्थकले अमेरिकालाई किन समर्थन गर्थे र ?
नेपाली समर्थकको पहिचान यस्तै छ । आफ्नो मात्र नभएर समर्थक सबैको भलो चाहन्छ ।
खेलपछि अमेरिकाका केहि खेलाडीले नेपाली समर्थकलाई आफ्नो जर्सी मायाको चिनो स्वरूप दिए ।
चार खेलको सिरिजमा नेपाल २ खेलमा जित निकाल्दा २ मा हार व्यहोर्यो ।
नेपालले ओमानसंग दुवै खेल हार्दा अमेरिकालाई पराजित गर्यो ।
अपराजित रहेको ओमानले सिरिजमा क्लिन स्विप गर्यो ।
ओमान लिगको शीर्ष स्थानमा उक्लिन सफल भयो ।
खेलमा नेपालले सोचे अनुरुप प्रदर्शन गर्न सकेन । तर समर्थकले सिरिज अवधिभर खेलाडीलाई साथ दिईरहे ।
सबै खेलमा खेलाडीलाई हौसला बढाउन सक्दो कोशिस गरे ।
ओमानविरुद्धको दुवै खेलमा नेपाली खेलाडी जम्न सकेनन् ।
लाग्थ्यो, उनीहरु ओमानी खेलाडीसंग आत्मसमर्पण गरिरहेका थिए । ओमानबिरुद्व कुनैपनि समय नेपाल हाबी देखिएन ।
अमेरिकाविरुद्ध भने नेपाल दुवै खेलमा प्रभावशाली देखियो । सिरिज सुरु हुनु अघि लिगको शीर्ष स्थानमा रहेको अमेरिकाले सिरिजमा चारै खेल गुमायो ।
अपराजित ओमानले शीर्ष स्थानमा कब्जा जमायो तर सिरिज नेपाली समर्थले जितेको आभास दिए ।
समर्थकले नेपालको मात्र नभएर पाहुना राष्ट्र ओमान र अमेरिकालाई समेत राम्रो समर्थन गरे ।
समर्थकको स्वभाव र समर्थन देखेर पाहुना देशका खेलाडी निकै प्रभावित भएका थिए ।
सिरिजमा नेपालले खेलेको चारै खेलमा मैदान भरिनै देखिन्थ्यो । नेपालले नखेल्ने दिन मैदानमा दर्शक कम देखिन्थे ।
ओमान र अमेरिकी क्रिकेटमा समर्थक बिरलै भेटिने गर्छन् ।
उनीहरुले घरेलु भूमिमा खेल्ने अन्तराष्ट्रिय खेलमा समेत सायदै समर्थक आउने गर्छन् । तर नेपालमा देखिने चित्र फरक छ, नेपालको खेल हेर्न समर्थक जहाँ पनि पुग्ने गरेका छन् ।
ओमान र अमेरिकाका खेलाडीले आफ्नो खेलमा सायदै यत्तिको समर्थकको भिड देखेका थिए ।
उनीहरु हरेक खेलमा नेपाली समर्थकको प्रशंसा गरेर थाकेनन् ।
’यस्तो अचम्मको दर्शक अहिलेसम्म देखेको थिएनौ ।’ नेपालसंगको दोस्रो खेलपछि ओमानका अकिब इलासले भने, जीवनमा मैले देखेको सबै भन्दा राम्रो क्षण नै यहि हो ।
नेपालले सिरिजका दौरान पाएको दर्शकको साथ कतिपय टेष्ट खेल्ने राष्ट्रले समेत पाउदैनन् । त्यसैले त कतिपय एसोसियटदेखि टेष्ट राष्ट्र सम्मका खेलाडी नेपालमा आएर खेल्न उत्साहित हुन्छन् ।
नेपाली समर्थक अन्य राष्ट्रको भन्दा फरक छन् ।
नेपालको मात्र नभएर राम्रो खेलको खण्डमा विपक्षी टिमलाई समेत साथ दिने गर्छन् ।
नेपालविरुद्ध सय रन पुरा गरेपछि ब्याटिङ अलराउन्डर अकिबले नेपाली समर्थकलाई आफ्नो शतक समर्पित गरेका थिए ।
उनीहरुले (समर्थक) टिमलाई समर्थन गर्ने तरिका र राम्रो खेलेपछी गर्ने व्यवहार सबै भन्दा राम्रो कुरा हो ।’ अकिबले थपे, मलाई थाहा छैन अब म नेपाल कहिले आउने छु, त्यसैले मैले उनीहरुको लागि शतक समर्पित गरे ।’
खेल सकिएपछि अकिबले नेपाली समर्थकसँग फोटो खिच्दै आफ्नो आउटर जर्सी समेत मायाको चिनो स्वरुप समर्थकलाई दिएका थिए ।
ओमानका विकेटकिपर ब्याट्सम्यान सुरज कुमारलाई त नेपाली समर्थकले निकै रुचाएका थिए ।
सुरजका आमा बुवा नेपालका हुन् । उनी भारतमा जन्मिए । सुरज राम्रोसंग नेपाली बोल्छन् ।
नेपालविरुद्ध ब्याटिङमा उत्रँदा होस् वा खेल सुरु हुनुअघि अभ्यास गर्दा, समर्थकहरु उनकै नामले सम्बोधन गर्थे ।
समर्थकले दुवै टिमलाई समर्थन गरेको देख्दा खुसी लाग्यो । थुप्रै देशमा यस्तो हुँदैन तर नेपाली समर्थकले दुवै टिमको समर्थन गरेको देख्दा कदर गर्छौं ।’ ओमानका अर्का खेलाडी मोहमद नदीमले समर्थकलाई धन्यवाद दिंदै भने ।
अमेरिकाका खेलाडी तथा प्रशिक्षक समेत नेपालविरुद्ध मैदान उत्रन आतुर थिए । उनीहरुसंग थोरै डर, धेरै उत्साह थियो ।
एक दशकअघि नेपाल आएको अमेरिकाले समर्थक माझ कमै खेल्ने अवसर पायो ।
उनीहरुका १-२ खेलाडी बाहेक अन्यकोे समर्थक माझ खेल्ने बानी समेत परेको थिएन ।
खेलाडीहरु यति धेरै समर्थकमाझ खेल्न उत्साहित छन् । मैदान बाहिर भन्दा रिङ (बाउन्ड्री लाईन)भित्र खेल्न सिकाउने मेरो काम हो,’ नेपालसंगको पहिलो खेलअघि अमेरिकाका प्रशिक्षक जेम्सले भनेका थिए, रष्टि थेरनले आईपीएल र बिग बासमा क्याम्रन स्टेभिन्सनले बाहेक अन्य खेलाडीले धेरै दर्शक बीचमा खेलेका छैनन् । उनीहरुलाई मजा लिँदै खेल्न हौसला दिनेछु ।’
प्रकाशित मितिः २०७६ फागुन ०२ शुक्रबार
Comments