काठमाडौं । एथलेटिक बिल्बाउले गएराति सान मामेसमा ग्रानाडामाथि १-० को जित हासिल गर्दै स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
पूरा समय खेल आफ्नो नियन्त्रणमा राख्दै थुप्रै अवसर सिर्जना गर्नाका बावजुद दोस्रो लेगको खेलमा साँघुरो जितमा सिमित हुनुको निराशा भने गाइज्का गारिटानोको टोलीले भोग्नुपर्यो। एथलेटिकले गरेका दुई गोल रेफ्रीले अमान्य घोषित गरेका थिए।
इनाकी विलियम्सले बायाँ विंग्सबाट दिएको राम्रो क्रसलाई मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा इकर मुनियाइनले गोलमा परिणत गर्दै एथलेटिकलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप आक्रामक रुपमा प्रस्तुत भएको एथलेटिकले दुई गोल गरेको थियो। तर विपक्षीको अफसाइड ट्रयाप ख्याल नगर्दा एथलेटिक अग्रता बढाउने मौकामा भने चुक्यो।
एथलेटिकका प्रशिक्षक गाइज्काले पाएका मौका उपयोग गर्न नसक्नुलाई निराशाजनक प्रदर्शनको शंज्ञा दिए। ‘यति महत्वपूर्ण खेलमा कुनै पनि टोलीले गोल गर्नका लागि बारम्बार मौका पाउँदैनन्। तर हामीले आज पाएका थियौं। त्यसमा सफल हुन नसक्नु निराशाजनक प्रदर्शनको नतिजा हो। आगामी चरणमा यसमा सुधार गर्न नसके हामीले ठूलो सपना देख्न मिल्दैन,’ उनले भने।
प्रकाशित मितिः २०७६ फागुन ०१ बिहीबार
Comments