काठमाडौं । भारतीय महिला लिग (आईडब्लुएल) मा उच्च प्रदर्शन गरिरहेकी राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारीले प्रिमियर लिग आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारमा प्राप्त गरेकी छिन् ।
गोकुलम केरेला एफसीबाट आइ लिग खेलिरहेकी सावित्रालाई मंगलबारको खेलपछि ओजिलका एजेन्ट इकुट सोगुटले जर्सी हस्तान्तरण गरेका थिए । बैंगलोर युनाइटेड फुटबल क्लबलाई गोकुलमले ५–१ ले हराएको खेलपछि उनलाई जर्सी प्रदान गरिएको थियो । उनले त्यो खेलमा एक गोल गरेकी थिइन् । सोगुटले त्यो खेल हेरेका थिए ।
‘मेरो खेल राम्रो लागे जर्सी दिएको रहेछ । मैले त्यस्तो उपहार पाइएला भन्ने सोचेको पनि थिइन्,’ सावित्राले भनिन्, ‘मेरो त खुसीको सिमा नै छैन ।’ जारी लिगमा लगातार चार जित निकाल्दा सावित्राले गोल गरेकी थिइन् । उनले ४ खेलमा १२ गोल गरिसकेकी छिन् । त्यसअघि छनोटमा ३ गोल गरेकी उनको गोल संख्या १५ पुगेको छ ।
जारी लिगमा उनी अहिले सम्म सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छिन् । १३ गोलसहित साविक विजेता टोली सन्ध्या दोस्रो स्थानमा छिन् । गत सिजन सेथुबाट च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन् । यसपटक भने सावित्राले गोकुलम रोजिन् ।
उनीसँगै गत वर्ष सेथुमा खेलेकी एपिएफ र राष्ट्रिय टोलीकी सदस्य अनिता बस्नेत यो सिजनमा पनि सोही क्लबमा छिन् । यसपटक अलग अलग क्लबमा रहेका सावित्रा र अनुको टोली लिगको सेमिफाइनल पुगिसकेको छन् । सावित्राको टोलीले शुक्रबार राउन्ड रोविन लिगको अन्तिम खेल खेल्दैछ । जर्मनीका पूर्व स्टार ओजिलका एजेन्ट विश्वकप विजेता जमर्नीका प्रशिक्षक जोचिम लोउका समेत एजेन्ट रहिसकेका छन् ।
प्रकाशित मितिः २०७६ माघ २४ शुक्रबार
Comments