काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको आर्मी र पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफ बिहिबार लिगको ११ औं चरणमा प्रतिस्पर्धा गर्दैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने विभागीय डर्बी भिडन्त अपरान्ह ३ बजे सुरु हुनेछ ।
विभागीय डर्बी एक प्रकारले प्रतिष्ठाको लडाई पनि हुनेछ । त्यसैले दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आर्मी जितसहित शीर्ष स्थानमा यथावत रहँन चाहन्छ भने एपीएफ रेलिगेशन क्षेत्रबाट टाढा रहँन चाहन्छ ।
राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको आर्मी एपीएफलाई पराजित गर्दै दोस्रो स्थानको मछिन्द्रमाथि दबाब कायम राख्न चाहन्छ । भरत खवासको कप्तानीमा रहेको आर्मी उपाधि होडमा आफुलाई बलियो बनाउन समेत चाहन्छ ।
‘एपीएफ रेलिगेशन क्षेत्र नजिकै देखिएको मात्रै हो । पछिल्लो समय टप गेम खेल्दै आईरहेको छ । उनिहरुको मनोबल हाई भएको हुँदा सहज लिनु हुँदैन,’ एपीएफसँगको खेलअघि आर्मीका सहायक प्रशिक्षक चुन बहादुर थापा भन्छन् ।
एपीएफविरुद्ध आर्मीले आफ्ना महत्वपूर्ण स्ट्राइकर नवयुग श्रेष्ठलाई गुमाउने छ । चालु लिगमा ६ गोल गरिसकेका नवयुग दोस्रो पहेलो कार्डका कारण एपीएफविरुद्ध बाहिर रहने भएका हुन् ।
यता, एपीएफ पनि आर्मीलाई पराजित गर्दै रेलिगेशन क्षेत्र नजिकबाट टाढिन चाहन्छ । ५ अंक सहित पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफ पुछारमा रहेको सरस्वतीसँग ४ अंकको दुरी बनाउने दाउमा छ ।
‘आर्मी कठिन टिम पनि हो र विभागीय टिम पनि हो । हामी स्पिड गेम खेल्दै नतिजा आफ्नो पक्षमा पार्न चाहन्छौं,’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् ।
आर्मीविरुद्ध एपीएफका मिडफिल्डर प्रदिप लामाले खेल गुमाउने छन् । प्रदिप दोस्रो पहेलो कार्डका कारण टिम बाहिर रहने छन् । तर, लिगमा ५ गोल गरिसकेका एपीएफका आशिष लामा आर्मीविरुद्ध मुख्य हतियार हुनेछन् ।
प्रकाशित मितिः २०७६ माघ २३ बिहीबार
Comments