काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुदैछ ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा भिड्नेछन् । दोस्रो खेलमा आर्मी र पुलिसले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
रेलिगेशनबाट संघर्षरत शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । शीर्ष ६ को दौडमा रहेको संकटालाई समेत जित आवश्यक छ । उसले १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ ।
अर्को खेल विभागीय डर्बीको रहेको छ ।
उपाधि होडमा रहेको आर्मी विभागीय टिमविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । पुलिस भने शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ ।
आर्मी २० अंक सहित दोस्रो स्थानमा छ । पुलिस १४ अंक सहित तालिकाको छैटौं स्थानमा छ ।
जितको दबाबमा शेर्पा
गत मंगलबार हिमालयन शेर्पा क्लबले सरस्वती युथ क्लबसँग अप्रत्यासित हार ब्यहोर्यो ।
लिगको पुछारको सरस्वतीसँगको हारसँगै शेर्पाले रेलिगेशन क्षेत्रबाट टाढिने मौका गुमायो । र शेर्पापनि रेलिगेशन क्षेत्रकै नजिक रह्यो ।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शेर्पाले आईतबार संकटा क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा दिनको पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
लिगमा एक खेल कम खेलेको शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । यस्तै समान ९ खेलबाट संकटा १२ अंक सहित तालिकाको ८ औं स्थानमा छ ।
दशौं चरणको खेलमा शेर्पालाई जित्नैपर्ने दबाब छ । साविकको उपविजेता संकटाविरुद्ध जितले शेर्पाले कम्तिमा आफुलाई रेलिगेशन क्षेत्रबाट टाढा रहेको महशुस गर्नेछ ।
‘सरस्वतीसँग राम्रो खेल्न सकेनौं । अब, रेलिगेशनबाट बच्न राम्रो खेल्नुपर्छ । खेल निकैनै प्रतिस्पर्धात्मक हुनेछ ।’ हिमालयन शेर्पा क्लबका प्रशिक्षक संजिब बुढाथोकी भन्छन् ।
आईतबार शेर्पालाई कुनै खेलाडीको समस्या हुनेछैन । मान बहादुर तामाङको कप्तानीमा रहेको शेर्पाले २ विदेशी खेलाडी खेलाउने छ । उसका विश्वास श्रेष्ठ भने लिगको तेस्रो खेलबाट चोटले बाहिर छन् । उनले लिगका सबै खेल गुमाउने निश्चित छ ।
यता, अन्तिम खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी क्लबसँग पराजित संकटा शेर्पाविरुद्ध भने हार बिर्साउने तयारीमा छ । संकटा चौथो जित निकाल्दै शिर्ष ६ मा आफुलाई स्थापित गराउन चाहन्छ ।
‘पछिल्लो खेलमा केटाहरुले राम्रो गर्न सकेनन् । शेपालाई सहज लिन्नौं । युवा खेलाडीलाई मौका दिदै नतिजाका लागि खेल्छौं ।’ संकटा क्लबका प्रशिक्षक विजय महर्जन भन्छन् ।
आईतबार संकटाले आफ्ना विदेशी मिडफिल्डर मासौके मारियालाई गुमाउने छ । उनी दोहोरो पहेलको कार्डका कारण निलम्बनमा हुनेछन् ।
शेर्पाविरुद्ध जित निकालेको खण्डमा संकटा छैठौं स्थानमा उक्लने छ । शेर्पापनि संकटालाई हराउँदै दशौं स्थानमा उक्लने दाउमा छ ।
विभागीय भिडन्तमा आर्मी र पुलिस
उपाधि होडमा रहेको त्रिभुवन आर्मी क्लबले आईतबार विभागीय डर्बी अन्तर्गत नेपाल पुलिस क्लबको सामना गर्दैछ ।
दशरथ रंगशालामा हुने दिनको दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगको ६७ औं खेलमा पुलिस र आर्मी एक आपसमा भिड्न लागेका हुन् । एक प्रकारले विभागीय भिडन्त प्रतिष्ठाको लडाई पनि हो ।
एक खेल कम खेलको आर्मी २० अंक सहित दोस्रो स्थानमा छ । १० खेल खेलेको मछिन्द्रले आर्मीलाई आईतबार २ अंकले पछि पारेको हो ।
लिगको आफ्नो दशौं खेलमा पुलिसलाई हराउँदै आर्मी पुनः शीर्ष स्थानमा आफ्नो पकड बनाउन चाहन्छ । पुलिसविरुद्ध आर्मी सातौं जितको खोजीमा हुनेछ ।
‘अहिले शीर्ष स्थानमा जाने कि नजाने सबै आफ्नै हातमा छ । पुलिसविरुद्धको खेल फाइनल सरह छ । एक प्रकारले यो खेल प्रतिस्ठाको लडाई पनि हो ।’ आर्मीका सहायक प्रशिक्षक तथा ब्यवस्थापक चुन बहादुर थापा भन्छन् ।
राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको नेतृत्वमा रहेको आर्मीले साविक विजेता मनाङसँग मात्रै पराजित भएको छ । पुलिसविरुद्ध उसलाई कुनै खेलाडीको समस्याले पिरोल्ने छैन ।
यता, पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आईरहेको पुलिस आईतबार आर्मीलाई राम्रो टक्कर दिने दाउमा छ । आईतबार पुलिस गतसिजन लिगमा ब्यहोरेको १-० को हारको बदला लिने दाउमा छ ।
प्रतिस्ठाको लडाईमा पुलिस आर्मीलाई रोक्न चाहन्छ ।
‘चालु लिगमा आर्मी राम्रो छ । उसलाई पछिल्लो समय राम्रै फाइट दिएका छौं । आक्रमक।खेल खेल्दै तीन अंक लिन्छौं ।’ पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा भन्छन् ।
भोला सिलवालको कप्तानीमा रहेको पुलिसले आर्मीविरुद्ध स्ट्राइकर सुमन लामा, रविन श्रेष्ठ र सन्तोष हेम्रुनलाई गुमाउने छ । सुमन र रविन घाईत छन् भने सन्तोष पारिवारिक समस्याका कारण टिममा छैनन् ।
आर्मीविरुद्धका जितले १४ अंक सहित छैठौ स्थानमा रहेको पुलिस पाचौं स्थानमा उक्नले छ ।
प्रकाशित मितिः २०७६ माघ १९ आइतबार
Comments