काठमाडौं । ललितपुरे डर्बीमा बिहिबार च्यासल युथ क्लब र कुपन्डोलको फ्रेण्ड्स क्लब भिड्दैछन् । लिगको नवौ चरणको खेलमा दुई टोली भिड्न लागेका हुन् ।
रेलिगेशन क्षेत्र नजिकै रहेका दुई क्लबको भिडन्त रेलिगेशन क्षेत्रबाट माथि उम्किन हुनेछ ।
लिगमा एक खेल कम खेलेका दुबै क्लब रेलिगेशन क्षेत्रको नजिक छन् । च्यासल ८ खेलबाट ९ अंक सहित नवौं स्थानमा छ । फ्रेण्ड्स भने ८ अंक सहित ११ औं स्थानमा छ ।
राष्ट्रिय टिमका पुर्व स्ट्राइकर सन्तोष साहुखलको कप्तानीमा रहेको च्यासल छिमेकी फ्रेण्ड्सलाई पराजित गर्दै तालिका सुधार गर्न चाहन्छ । च्यासल लिगको तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।
‘बिबिसीविरुद्ध केहि सुधार भएको छ । अब बिना दबाब शीर्ष ६ का लागि खेल्छौं ।’ अन्तिम खेलमा बिबिसीलाई १-० गोल अन्तरले पराजित गरेका च्यासलका प्रशिक्षक बालगोपाल साहुखल भन्छन् ।
यता ब्राजिलियन तीन खेलाडी र प्रशिक्षकको साथ पाएको फ्रेण्ड्स छिमेकी च्यासललाई पराजित गर्दै तालिकामा सुधार गर्न चाहन्छ ।
च्यासललाई पराजित गर्दै फ्रेण्ड्स तेस्रो जित निकाल्ने दाउमा छ ।
‘च्यासलविरुद्ध जितकै लागि खेल्छौं ।’ फ्रेण्डस क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ भन्छन् ।
च्यासलले मिडफिल्डर छिरिङ गुरुङलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डका कारण निलम्बनमा रहनेछन् ।
अन्तिम खेलमा चोटले विश्राममा रहेका सुनिल बल खेलमा फर्कन सक्नेछन् ।
यता, फ्रेण्ड्स पनि आफ्ना ब्राजिलियन डिफेन्डर साउलो डि अक्विइनोलाई दोहोरो पहेलो कार्डका कारण गुमाउने छ । लिगको ६२ औं खेलमा दुबै टिमले एक एक साउथ एसियन खेलाडीसहित ३ विदेशी खेलाडी मैदान उतार्ने छन् ।
प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार
Comments