काठमाडौं । नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजमा विकेट (पीच) को कारण नेपालले छुट नपाउने बताएका छन् ।
नेपाली टिम लामो समयबाट त्रिवि मैदानको विकेटमा अभ्यस्त रहेको भन्दै सन्दीपले विकेटको कारण खेलमा छुट नहुने बताएका हुन् ।
हामीले सुरुवातबाट त्रिविमा क्रिकेट खेल्दै आएका छौं र हामी खेलमा विकेट स्लो वा क्विक भयो भन्दै पन्छिन सक्दैनौं, बिग बासबाट फर्किएसंगै राष्ट्रिय टिमसँग अभ्यासमा फर्किएका सन्दीपले भने, यस मैदानमा मैले क्रिकेट खेल्न थालेको पनि ३/४ वर्ष भईसक्यो । त्यसैले घरेलु मैदानको अवस्थाबारे हामी अज्ञात छैनौं ।
घरेलु मैदानमा नियमित अभ्यासमा रहेको कारण नेपालले बलिङ र ब्याटिङ दुवैमा फाइदा उठाउन पर्ने सन्दीपले बताए ।
घरेलु मैदान भएको कारण बलिङ र ब्याटिङ दुवैमा हामीले फाइदा उठाउन सक्नु पर्छ, उनले थपे, आशा छ हामीले राम्रो गर्ने छौं ।
विश्वकप छनोट अन्तर्गत रहेको लिग-२ को पहिलो सिरिज नेपालले घरेलु मैदानमा अमेरिका र ओमानसँग खेल्दैछ । लिग मात्र नभएर नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल घरेलु दर्शक सामु पहिलो पटक खेल्न लागेको हो ।
एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको दुई वर्षपछि नेपालले घरेलु भूमिमा एकदिवसीय खेल्न लागेको हो ।
लिग माघ २२ देखि २९ सम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । नेपालले पछिल्लो ३ सातादेखि सिरिजका लागि अभ्यास गरिरहेको छ । पहिलो एकदिवसीय तथा लिगको महत्वपूर्ण खेल भएको कारण नेपाल घरेलु भूमिमा अंक गुमाउन चाहदैन ।
यस्तै नेपालका पूर्व कप्तान पारस खड्काले त्रिवि मैदानमा नेपालको रेकर्ड राम्रो रहेको बताउँदै त्यसलाई निरन्तरता दिने बताए ।
एकदिवसीय अन्तराष्ट्रियमा एक मात्र शतक प्रहार गर्ने खेलाडी पारस खड्काले त्रिवि मैदानमा नेपालले रेकर्ड राम्रो रहेको बताएका छन् ।
त्रिवि मैदानमा नेपालको रेकर्ड राम्रो छ । आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने कोशिस गर्ने छौं, एकदिवसीय अन्तराष्ट्रियमा एक मात्र शतक प्रहार गर्ने खेलाडी रहेका पारसले भने, घरेलु मैदानमा अन्य राष्ट्रले कसरी खेल्छ भन्दा पनि हामीले राम्रो खेल्नु पर्छ ।
नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २३ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका
प्रकाशित मितिः २०७६ माघ १६ बिहीबार
Comments