काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले राष्ट्रिय टोलीबाट होस् वा क्लबबाट उनको जर्सी नम्बर ९ हो। उनलाई धेरैले साम्बा उपनाम र जर्सी नम्बर ९ बाट चिन्छन्।
तर भारतमा शुक्रबारबाट सुरु आईलिगमा उनको जर्सी नम्बर फेरिने भएको छ। गोकुलम केरला एफसीबाट आइलिग खेल्न लागेकी साम्बाले ७ नम्बरको जर्सी लगाएर मैदान उत्रिनेछिन्।
लिगको छनोट चरणको अन्तिम खेलमा अलकापुरालाई पराजित गर्दै उनको टोली आइलिगको लागि छनोट भइसकेको छ। सो खेलमा उनले २ गोल गरेकी थिइन्।
जर्सीबारे उनले भनिन्, ‘९ नम्बरको जर्सी गोकुलम कै सिनियर खेलाडीले लगाउने भएपछि मैले ७ नम्बरको जर्सी लगाउने भएको हो’
गत संस्करण सेथु एफसीबाट आइलिग खेलेकी साम्बाले ९ नम्बरको जर्सी नै लगाएकी थिइन्। सो संस्करणका ६ खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी उनले ३ ह्याट्रिकसहित १५ गोल गरेकी थिइन्
आइलिग महिला फुटबल शुक्रबारदेखि सुरु भएको छ। आगामी फेब्रुअरी १४ सम्म चल्ने लिगमा साम्बा सम्मिलित टोलीको पहिलो खेल आइतबार श्रीभुमी एफसीसँग हुँदै छ।
प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार
Comments