काठमाडौं । नेपालको क्यान-११ ले मलेसिया-११ विरुद्धको दोस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा फराकिलो जित हात पारेको छ । मंगलबार भएको दोस्रो खेलमा क्यान-११ ले मलेसियालाई १ सय ७० रनले हराएको हो ।
पोखरा रंगशालामा क्यानले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।
मलेसियालाई सस्तैमा समेट्न किशोर महतो र ललित राजवंशीले समान ३/३ विकेट लिए । यस्तै सुशन भारीले २ तथा कमल सिंह ऐरी र पवन सर्राफले समान १र१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान-११ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
क्यानको लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । ५० बल खेलेका उनले ५५ रन बनाएर रिटायर्ड भए । यस्तै रोहित कुमार पौडेलले समेत ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दै रिटायर्ड गर्दा सुबास खकुरेल ४८ रनमा आउट भए ।
लोकेश बमले ३२, बिनोद भण्डारीले २१ र सुनिल धमलाले २३ रनको योगदान दिए । खेलमा किशोर महतो प्लेयर अफ दि म्याच चुनिए । सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो ।
विश्व क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि अहिले नेपाली टिमले पोखरामा अभ्यास गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार
Comments