काठमाडौँ ।अर्को वर्ष क्यामरूनमा हुने ‘अफ्रिका कप अफ नेसन्स’ जनवरीमा हुने निश्चित भएपछि इङ्लिस प्रिमियर लिगका क्लबमा व्यावसायिक फुटबल खेल्ने अफ्रिकी खेलाडीले क्लबका केही खेल गुमाउने भएका छन्।
क्यामरूनको फुटबल संघले मौसमका कारण बुधबार अर्को वर्षको जनवरी ९ देखि फ्रेब्रअरी ६ सम्मका लागि अफ्रिका कप अफ नेसन्स गर्ने निश्चित गरेको हो। प्रतियोगिता जनवरीमा हुने भएसँगै प्रिमियर लिगमा स्थापित खेलाडीले क्लबका खेल गुमाउने निश्चित हुँदा सबैभन्दा ठूलो असर लिभरपुललाई पर्ने भएको छ।
लिभरपुलका मोहम्मद सालाह, सडियो माने, जोइल म्याटिप र नाबी केइटाले लिगका ६ खेलसम्म गुमाउन सक्नेछन्।आर्सनलले पनि कप्तान पेरी एम्रिक अबामियाङ बिना केही खेल खेल्नु पर्नेछ।
यद्यपि, गत वर्ष अबामियाङको देश गाबोन प्रतियोगितामा छनोट हुन सकेको थिएन। म्यानचेस्टर सिटीले एक मात्र खेलाडी रियाड माहरेजलाई लगभग एक महिना ड्रेसिङ रुम र मैदानमा पाउने छैन। फरवार्ड माहरेज प्रतिनिधित्व गर्ने अल्जेरिया प्रतियोगिताको साविक विजेताको रूपमा प्रतियोगिता खेल्ने छ।
प्रकाशित मितिः २०७६ माघ ०२ बिहिबार
Comments