भक्तपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ ।
सोमबार भएको फाइनलमा श्रीलंकाको यू–२३ टिमलाई पराजित गर्दै बंगलादेश यू-२३ टिमले स्वर्ण जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।
१ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभर १ बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
बंगलादेशका कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक अविजित ३५, सैफ हसनले ३३ रन, सौम्या सरकारले २७, यासिर अलिले १९ र आफिफ होसेनले अविजित ५ रन बनाए ।
श्रीलंकाका कामिन्दु मेण्डिस र सचिन्दु चोलोम्बाजले समान १र१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २२ रन बनायो ।
श्रीलंकाका शम्मु अशानले २५ , पथुम निस्सान्काले २२ तथा निशान फर्नान्डोले १६ रन बनाए ।
बंगलादेशका हसन महमुदले ३ तथा तान्भिर इस्लामले २ विकेट हात पारे ।
पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ । सोमबार बिहान नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक हात पारेको हो ।
प्रकाशित मितिः २०७६ मंसिर २४ मंगलवार
Comments