काठमाडौं। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको खेल हेर्न ३५ हजारभन्दा बढीले टिकट काटेका छन् । विशेष गरी नेपाली टिमलाई हौसला प्रदान गर्न खेलप्रेमीले ५ सय र हजार रुपैयाँका टिकट काटेर गरेका हुन् । काठमाडौंमा भएका खेलका लागि मात्रै यतिको संख्यामा टिकट बिक्री भएका हुन् । खासगरी नेपाली फुटबल टिमको खेल हुँदा दशरथ रंगशाला पुग्ने दर्शकको संख्या सबैभन्दा धेरै छ ।
साग खेलमा टिकटको व्यवस्थापकको जिम्मेवारी पाएको ई-सेवाले नेपालको खेल हर्न मात्रै ३५ हजारभन्दा बढीले टिकट काटेको जानकारी दिएको छ । ई-सेवाका सीइओ रोशन लामिछानेका अनुसार शनिबार नेपाल र माल्दिभ्सबीच भएको खेल हेर्न मात्रै ११ हजार ७ सयले टिकट काटेका थिए ।
फुटबलतर्फ नेपाली टिमको पहिलो खेल हेर्न ६ हजारले टिकट काटेका थिए भने दोस्रो खेल हेर्न ७ हजार जनाले टिकट काटेका थिए । आजको बंगलादेशविरुद्धको खेल हेर्न ६ हजार ५ सयभन्दा बढीले टिकट काटिसकेको लामिछानेले बताए । नेपालको खेल हुँदा रंगशाला खचाखच देखिन्छ भने अन्य देशको खेल हुँदा दर्शकको संख्या ज्यादै न्यून देखिन्छ । नेपाली टिमको खेल नहुँदा मुस्किलले २ सय ५० वटा मात्र टिकट बिक्ने गरेको पनि लामिछानेले बताए ।
यसैबीच, अनलाइनबाट टिकट काटेर पनि खेल हेर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन् । ईसेवाबाट टिकट काटेर रंगशाला पुगेका दर्शक खेल हेर्न नपाउँदा आक्रोसित देखिन्थे । उनीहरूले गेटमा सुरक्षाकर्मीसँग गुनासो गरेका थिए ।
यता, टिकट व्यवस्थापनको जिम्मा लिएको ई-सेवाले भने सिस्टमबाट टिकट काटेकाहरू खेल हेर्नबाट वञ्चित नभएको जनाएको छ । कतिपय मान्छेले टिकट फोटोकपि गरेर ल्याएका कारण खेल हेर्न नपाएपछि यस्तो गुनासो गरेको ईसेवाका सिइओ लामिछानेले बताए । उनले समयमै रंगलाशाको गेट छिर्न पर्ने भएकाले ढिला गरी आउनेहरूका लागि समेत आफूले नै खेल हेर्ने वातावरण बनाएको दाबी गरे ।
उनले भने, “कतिपय साथीहरूले एउटा टिकट काटेर त्यही टिकट अर्कोलाई दिने गरेको समेत भेटिएको छ, सिस्टमबाट टिकट काटेमध्ये कतिले खेल हेर्न आएनन् भन्ने पनि सिस्टमबाटै थाहा हुन्छ । त्यस्तो संख्या १२ जनाभन्दा बढी छैन ।” ईसेवाले साग अन्तर्गतका फुटबल, क्रिकेट, भलिबल तथा बास्केटबलको टिकट बिक्री तथा व्यवस्थापनको काम गर्दै आएको छ ।
प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार
Comments