काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड अर्जेन्टिनाका मेस्सीले जितेका हुन् ।
३२ वर्षका मेस्सीले सन् २०१५ यता पहिलो पटक यो अवार्ड जितेका हुन् । मेस्सीले गएको सिजन ९२०१८–२०१९० मा क्लब र राष्ट्रिय टिमबाट ५४ गोल गरेका थिए । गएको सिजन मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए ।
खेलाडी, प्रशिक्षक तथा पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा युरोपियन च्याम्पियन्स लिग विजेता लिभरपुलका भर्जिल भान डिजेक दोस्रो स्थानमा रहे ।
युरोपियन वर्ष खेलाडीको उपाधि जितेका भर्जिललाई यो पटक बालोन डी’ओरका दाबेदार मानिएको थियो । तर अवार्ड फेरि मेस्सीले नै जितेका हुन् । पाँच पटकका विजेता युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे ।
लिभरपुलका गोलरक्षक एलिसनले याशिन ट्रफी प्राप्त गरे । वर्षको उत्कृष्ट गोलरक्षकका लागि प्रदान गरिने यो ट्रफी बालोन डी’ओर विजेता एक मात्र गोलरक्षक याशिनको नाममा राखिएको हो र यहि वर्षदेखि सुरु भएको हो ।
युभेन्टस तथा नेदरल्याण्डसका डिफेन्डर माथेज डी लिग्टले कोपा ट्रफी जिते । यो ट्रफी २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने गरिएको छ । उनलाई बालोन डी’ओरका पूर्व विजेताहरुले चयन गरेका हुन् ।
मेस्सीले यो वर्षको बालोन डी’ओर पनि जितेपछि पछिल्लो ११ वर्षमा ला लिगाकै खेलाडीले यो अवार्ड जितेका छन् । गएको वर्ष रियल मड्रिडका लुका मोड्रिकले जितेका थिए । उनले १० वर्षदेखिको मेस्सी–रोनाल्डोको एकाधिकार तोडेका थिए ।
मेस्सीले अवार्ड जितेपछि भनेका छन् , ‘आज मैले छैटौँ बालोन डी’ओर जितेँ । यो विलकुल फरक क्षण हो, यो समय मेरा सन्तान र परिवारसँग बिताउने छु ।’
मतदानमा चौथो स्थानमा लिभरपुलका साडिओ माने, पाँचौँ स्थानमा लिभरपुलकै मोहम्मद सालह, छैटौँ स्थानमा पिएसजीका केलियन एमबाप्पे, सातौँ स्थानमा लिभरपुलका एलिसन, आठौँ स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, नवौँ स्थानमा बर्नार्डो सिल्भा र दशौँ स्थानमा म्यानचेस्टर सिटीका रियाद महरेज रहेका छन् ।
प्रकाशित मितिः२०७६ मंसिर १७ मंगलबार
Comments