पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको छ। केबल १७ रनको लक्ष्य पछ्याएको नेपालले ५ बलमै जित निकालेको हो। पहिले ब्याटिङ गरेको माल्दिभ्सले एकदमै खराब प्रदर्शन गर्दै १६ रन बनाएको थियो।
नेपालमा आएर एउटा अभ्यास खेल खेलेको माल्दिभ्सका सबै खेलाडी दोहोरो स्कोर नगरी बाहिरिए। माल्दिभ्सविरुद्धको खेलमा अञ्जली चन्दले महिला क्रिकेटकै कीर्तिमानी बलिङ गर्न सफल भइन्। माल्दिभ्सविरुद्ध बलिङमा उत्रिएकी उनले एक रन नखर्चिइ ६ विकेट लिएर नयाँ कीर्तिमान आफ्नो नाममा लेखाइन्। अञ्जलीले पहिलो ओभरमा मेडेन राख्दै तीन विकेट लिएकी थिइन्। दोस्रो ओभरमा पनि उनले एक रन पनि दिइनन्।
तेस्रो ओभरमा कुनै रन नदिइ अर्को विकेट झारिन्। यही प्रदर्शनबाट उनले महिला क्रिकेटकै कीर्तिमानी रेकर्ड बनाएकी हुन्। यसअघि कम रन दिएर धेरै विकेट लिने कीर्तिमान मलेसियाकी मास एलिसाले बनाएकी थिइन्। एलिसाले चीनविरुद्ध चार ओभरमा एक मेडेन राख्दै तीन रन दिएर ६ विकेट आफ्नो नाममा लेखाएकी थिइन्।
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमबार
Comments