काठमाडौँ। नेपालले १३औं दक्षिण एशियाली खेलकुद सागमा करातेबाट पहिलो स्वर्ण पदक जितेको छ।पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लालाई पराजित गरेका हुन्।
श्रेष्ठ २६.७२ अङ्क प्राप्त गरेका छन् भने नियमातुल्लाले २४.९२ अङ्क प्राप्त गरेका थिए।
जितपछि ३४ वर्षीय श्रेष्ठले भने, “मेरो ठूलो सपना पूरा भएको छ। देशका लागि पहिलो स्वर्ण जित्न पाउँदा म खुशी छु।यो मेरो लक्ष्य हो। लामो समयदेखि म यसको प्रतिक्षामा थिएँ।”
तीन पटक राष्ट्रिय च्याम्पियन रहेका श्रेष्ठ नेपाल प्रहरीबाट खेल्ने गर्छन्। नेपालका लागि महिला एकल कातामा चञ्चला दनुवारले पहिलो स्वर्ण जित्ने अपेक्षा गरिएको थियो।तर उनी पाकिस्तानकी साइदाभन्दा कमजोर साबित भइन र रजत मै चित्त बुझाइन्।
Comments