काठमाडौं ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको पुरुषमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार किर्तिपुरमा भएको खेलमा नेपालले बंगलादेशलाई २१-१९ अंकले पराजित गर्यो ।
जितसँगै नेपालले आफ्नो खातामा ३ अंक जोडेको छ । खो खोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गरेको हो । पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ जोड्दा दोस्रो टर्नमा बंगलादेशले पनि १२ नै अङ्क जोड्यो ।
दोस्रो इनिङको पहिलो टर्नमा ९ अङ्क जोड्दा नेपाल २१-१२ को स्थितिमा पुग्यो । तेस्रो टर्नमा बंगलादेशलाई १० अङ्कको आवश्यकता रहदा ८ अङ्कमात्रै जोड्दा नेपालले पहिलो जित सुनिश्चित गर्यो ।
नेपालको जितमा धन प्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान ४-४ अंक जोडे ।जितपछि बोल्दै नेपाली टिमका भारतीय प्रशिक्षक आदित्य चिन्तामनले नसोचिएको जित हात पारेको बताए ।
नेपालले भोलि (सोमबार) दोस्रो खेलमा भारतको सामना गर्नेछ । आजनै भएको खेलमा भारतले श्रीलंकालाई २१-८ अङ्कले पराजित गर्यो । भारतले दोस्रो इनिङमा एक टर्न मात्रै खेल्दै सहज जित निकाल्यो ।
महिलातर्फ आजनै नेपालले बंगलादेशको सामना गर्दैछ । पाकिस्तान, भुटान र माल्दिभ्स सहभागी नभएको खोखो राउन्ड रोबिनको आधारमा हुनेछ ।
प्रकाशित मितिः२०७६ मंसिर १५ आइतवार
Comments