काठमाडौँ। १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला भलिबलमा आज सेमिफाईनलका खेल हुदैछ ।त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स तथा दोस्रो खेलमा नेपाल र श्रीलंका भिड्दै छन् ।
साग खेलकुदमा कास्य पदक भन्दा माथि उक्लिन नसकेको नेपालका लागि ईतिहास रच्ने अवसर छ । श्रीलंकालाई हराए नेपाल सागको ईतिहासमा पहिलो पटक फाईनल पुग्नेछ । सोही कारणमा सागमा पहिलो स्वर्ण जित्ने लक्ष्य राखेको नेपालले श्रीलंकालाई हराउनुपर्ने चुनौती छ ।
श्रीलंकालाई हराए कम्तिमा रजत पदक नेपालले महिला भलिबलमा पक्का गर्नेछ । दक्षिण एसियामा भारत र श्रीलंका नेपाल भन्दा बलिया टिम हुन् ।
यसअघि नेपालमै भएको दक्षिण एसियाली महिला भलिबलमा नेपालले श्रीलंकालाई हराएको थियो । सोही कारणको सेमिफाईनलमा उत्रदै गर्दा श्रीलंकालाई हराउन सक्ने आत्मबल नेपालले लिएको छ ।
पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले दोस्रो खेलमा भारतसंग पराजित भएको थियो । नेपाल र भारतसंग हारेको बंगलादेशले समूह चरणबाटै बाहिरिएको छ ।
नेपाल समूह उपविजेताको रुपमा सेमिफाईनल पुगेको हो । नेपालले फाईनल प्रवेशका लागि समूह बीको विजेता श्रीलंकासंग भिड्न लागेको हो । आजै हुने पहिलो सेमिफाईनलमा भारत र माल्दिभ्स भिड्नेछन् ।
प्रकाशित मितिः २०७६ मंसिर १४ शनिवार
Comments