काठमाडौं। युभेन्ट्सका पाउलो डिबालाले क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीसँग एउटै ड्रेसिङ रहँदा खुसी लाग्ने जनाउँदै उनीहरुसँग खेल्दा खेलमा पनि सुधार आउने बताएका छन् । अर्जेन्टिनी टोलीमा डिबाला संघर्ष गरिरहेका छन् । मेस्सी जस्तो क्षमतावान खेलाडी भएको टोलीमा स्थान बनाउन कठिन हुने उनले बताएका छन् ।
‘मेरा साथीहरु भन्छन् राष्ट्रिय टोलीमा मेस्सी छन् । युभेन्ट्समा गए रोनाल्डो । तर म भन्छु त्यो सबै गलत हो,’ पोर्चुगिज सुपर स्टार क्लबमा भित्रँदा उनलाई नराम्रो लागेको भन्ने खबरको खण्डन गर्दै डिबालाले भने ।
‘उत्कृष्ट खेलाडीलाई कसले चाहँदैन । उनीहरुबाट हरेक दिन केहि सिक्न पाइन्छ ,’ डिबालाले थपे, ‘उनीहरुको क्षमता बारे हामी सबै चर्चा गछौं । यी दुई खेलाडीहरु भन्दा दुई कदम अगाडि छन् ।’ डिबाला र रोनाल्डो अहिले टुरिनमा सम्बन्ध राम्रो रहेको बताइन्छ । उनले मेस्सीसँगको समझदारी पनि उत्कृष्ट रहेको बताउँछन् ।
‘रोनाल्डोसँग मेरो लय मिन्छ । हामी लामो समयसम्म कुरा गरिरहेका हुन्छन् । हामी क्लबका बारेमा पनि कुरा गर्छौं । फुटबल बाहेकका पनि कुरा हुन्छ,’ उनले भने, ‘मेस्सीसँग पनि राम्रो सम्बन्ध छ । हामी लामो समयसम्म सँगै हुन्छौं । आपसी ठट्टा पनि गर्छौं ।’ युभेन्टस र एट्लेटिको म्याड्रिडबीच मंगलबार च्याम्पियन्स लिगमा प्रतिस्पर्धा हुँदैछ ।एजेन्सी
प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार
Comments