काठमाडौं । क्रिष्टियानो रोनाल्डोले नयाँ प्रशिक्षक माउरिजिओ सारीको अभिभावकत्वमा युभेन्टस थप उत्कृष्ट बन्दै गएको बताएका छन् ।
सारीको प्रशिक्षणमा इटालियन क्लब युभेन्टसले ‘अट्याकिङ्ग’ स्टाइल अपनाउन थालेको र त्यो राम्रो रहेको रोनाल्डोले बताएका छन् । ६० वर्षका सारीले यहि सिजन इंग्लिस प्रिमियर लिग क्लब चेल्सी छोडेका हुन् ।
उनले युभेन्टसका सफल प्रशिक्षक मासिमिलियानो एलेग्रीको ठाउँमा नियुक्ति लिएका हुन् । युभेन्टस अहिले सिरी ए फुटबलको शीर्ष स्थानमा छ र च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति लोमोमोटिभ मस्कोसँग प्रतिस्पर्धा गर्दैछ ।
रोनाल्डोले प्रशिक्षक सारीका बारेमा भनेका छन्, ‘मलाई उनले तय गरेको टिमको खेल्ने तरिका मन पर्छ । हामीले यसबाट धेरै अवसरहरु सिर्जना गरिरहेका छौँ । मलाई लाग्छ टिम थप उत्कृष्ट भइरहेको छ ।’
सारीको आगमनसँगै टिम थप आत्मविश्वासी बन्दै गएको उनले उल्लेख गरेका छन् । रोनाल्डोले यो सिजन राष्ट्रिय टिम र क्लबबाट गरी १३ खेलमा १२ गोल गरिसकेका छन् । उनले खेल जीवनमा समग्रमा गोल संख्या ७०१ पु¥याइसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक ५ मंगलबार
Comments