काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले आउँदो जनवरी महिनामा क्लब छोड्ने मनसाय बनाएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । स्पेनिस मिडिया मार्काका अनुसार पछिल्लो समय बेन्चमा मात्र सीमित भएपछि असन्तुष्ट रहेका राकिटिकले क्लब छोड्ने मनसाय बनाएका हुन् ।
राकिटिक २ साताअघि एक अन्तर्वार्ताको क्रममा आफू बार्सिलोनामा बेन्चमा मात्र बस्न नआएको भन्दै चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘बार्सिलोनाभन्दा राम्रो क्लब अरु छैनन् । यो विश्वकै उत्कृष्ट क्लब हो । तर, म यहाँबाट खेल्न चाहान्छु, शहर र समुन्द्री किनार हेर्दै रमाइलो गर्न होइन । मैले क्लबमा यो विषयमा कुरा गरिसकेको छु, सबैलाई थाहा छ मसँग अन्य विकल्प पनि छन् भन्ने कुरा ।’
राकिटिकले अब पनि यस्तै अवस्था रहेमा क्लबसँग बसेर कुरा गर्ने भन्दै चेतावनी दिए । उनले भने, ‘म धेरै वटा टोलीसँग भिड्न चाहान्छु । मैदानमा खेल्नका लागि तैयार छु । यदि, अब यस्तै अवस्था रहेमा हामीले मेरो अवस्थाका बारेमा बसेर छलफल गर्नैपर्छ ।’
क्लबका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले ३१ वर्षीय मिडफिल्डर राकिटिकलाई पछिल्ला खेलहरूमा बेन्चमा नै राखेका छन् । आफू मैदानमा कम र बेन्चमा बढी बस्नु पर्ने भएपछि उनले क्याप नोउ छोड्ने मनसाय बनाएका हुन् । खबरका अनुसार राकिटिकको २ वर्षे सम्झौता आउँदो जनवरीमा सकिने छ र उनको सरुवाको बाटो खुल्नेछ ।
राकिटिकलाई अघिल्लो वर्ष अर्थात् सन् २०१८ मा भने फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले इच्छा देखाएको थियो । यस्तै अब भने इटालियन क्लब युभेन्टस र इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पनि उनलाई भित्र्याउने दौडमा देखिएको मार्काको दाबी छ ।
उनी सन् २०१४ मा सेभिल्लाबाट बार्सिलोना आएका हुन् । क्रेएशियालाई रसिया विश्वकपको उपविजेता बनाउन सफल राकिटिकले बार्सिलोनाबाट २ सय ७४ खेल खेलेका छन् । जसमा उनले ३४ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २९ बुधबार
Comments