काठमाडौं । बार्सिलोनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पछिल्लो समय क्लब छोड्ने विषयमा चर्चामा छन् । लामो समयदेखि बार्सिलोनाबाट खेल्दै आएका ३२ वर्षीय मेस्सी यसै वर्षको अन्त्यमा क्लब छोड्ने विषयका कारण चर्चामा थिए ।
ला लिगा च्याम्पियन क्लबले पनि मेस्सीले चाहेको बखतमा क्लब छोड्न सक्ने जनाउँदै आएको थियो । यसैबीचमा उनलाई लिजेन्ड खेलाडी डेभिड बेकह्यामले पनि आफ्नो क्लब इन्टर मियामीका लागि प्रस्ताव राखेका थिए । अमेरिकी क्लब मियामीका मालिकसमेत रहेका बेकह्यामले उनलाई हालै मात्र आफ्नो क्लबका लागि प्रस्ताव राखेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
तर, क्लब छोड्ने चर्चाबीच मेस्सीले आफ्नो विचार राखेका छन् । उनले स्पेनिस म्यागाजिन ‘स्पोर्ट्स’सँगको कुराकानीका क्रममा भविष्यलाई लिएर आफ्नो संक्षिप्त विचार राखेका हुन् । अर्जेन्टिनी कप्तान मेस्सीलाई क्लब छोड्ने विषयमा पत्रकारहरूले प्रश्न गरेका थिए, जसमा उत्तर दिँदै मेस्सीले बार्सिलोना आफ्नो घर भएको बताएका छन् । उनले भनेका छन्, ‘बार्सिलोना मेरो घर हो र म यसलाई कदापी छोड्न चाहान्न । तर, म जित्न चाहान्छु ।’
मेस्सीले ‘स्पोर्ट्स’सँगको कुराकानीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी का स्टार खेलाडी नेयमारको सरुवाको विषयमा कुरा गरेका छन् । उनले स्पेनिस म्यागाजिन ‘स्पोर्ट्स’सँगको कुराकानीमा बार्सिलोनाले नेयमार फर्काउन प्रयास गरेको वा नगरेको विषयमा आफू अनभिज्ञ भएको बताएका छन् । उनले भनेका छन्, ‘नेयमार पुनः क्लब फर्किएको हेर्न चाहान्थेँ । साँच्चै भन्नुपर्दा, मलाई यो पूर्णरूपले थाहा छैन कि, बार्सिलोनाले नेयमारलाई क्लब फर्काउन प्रयास गर्यो कि गरेन । तथापि, नेयमारलाई पीएसजीबाट उम्किन सजिलो भने छैन ।’ एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २६ बिहिबार
Comments