काठमाडौं । स्टार खेलाडी नेइमारमाथि बलात्कारको आरोप लगाएकी महिलाविरुद्ध आर्थिक स्वार्थपूर्तिका लागि झुट आरोप लगाएको भन्दै प्रहरीले आरोप दर्ता गरेको छ ।
नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोकी एक महिलाले आफूमाथि यौन हिंसा भएका भन्दै उजुरी दिएकी थिइन् । पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप ती महिलाको थियो ।
तर पर्याप्त प्रमाणको अभावमा नेइमारमाथि लागेको बलात्कार आरोपका सम्बन्धमा अनुसन्धान अघि बढाउन नसकिएको भन्दै ब्राजिलको प्रहरीले नेइमारलाई आरोपबाट मुक्त गरेको थियो ।
नेइमारलाई इन्स्टाग्राम मार्फत चिनेको बताउने नाजिला ट्रिन्डाडी नामकी ती महिलाले नेइमारकै आग्रहमा पेरिसमा आफूहरुको भेट भएको बताएकी थिइन् ।
नेइमारले नै फ्रान्सका लागि विमान टिकटको व्यवस्था गरेको र उनका लागि होटल साफिटेल पेरिसमा कोठा बुक गरिदिएको पनि उल्लेख गरिएको थियो । घटना गएको मे १५ को रहेको उल्लेख गरिएको थियो ।
नेइमार होटल आइपुग्दा रक्सीले मातेको अवस्था रहेको ती महिलाले आरोप लगाएकी थिइन् । केही गफगाफ र असहज वातावरणपछि नेइमार आक्रोशित बनेको र आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गरेको ती महिलाले आरोप लगाएकी थिइन् । ती महिला दुई दिनपछि ब्राजिल फर्किएकी थिइन् ।
उनले आरोपित घटनाका बारेमा फ्रेन्च प्रहरीमा उजुरी दिएकी थिइनन् । महिला भावनात्मक रुपमा विक्षिप्त अवस्थामा रहेको र अर्को देशमा घटना दर्ता गर्न डराएकाले ब्राजिलमै गरिएको प्रहरी उजुरी दर्ता गर्दाको कागजातमा उल्लेख गरिएको थियो ।
घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको साओ पाओलो प्रहरीले नेइमारमाथिको आरोपका सम्बन्धमा आवश्यक प्रमाण नपुगेकाले अनुसन्धान बन्द गरेको र नेइमार आरोपबाट मुक्त भएको बताइसकेको थियो ।
प्रहरीले हाल नेइमारमाथि बलात्कार आरोप लगाउने महिला नाजिला ट्रिन्डाडी र उनका पूर्व श्रीमान इस्टीवेन्स अल्भेसविरुद्ध उजुरी दर्ता गरेको हो । उनीहरुले नेइमारमाथि झुट आरोप लगाएको र उनलाई ब्ल्याकमेल गर्न खोजेको प्रहरीको भनाई छ । ट्रिन्डाडीका वकिलले पछिल्लो अभियोगबाट आफू अचम्मित भएको बताएका छन् ।
नेइमारले आफूमाथि आर्थिक स्वार्थका कारण वकिलहरुको मिलेमतोमा आरोप लगाइएको भन्दै बलात्कारका सम्पूर्ण आरोप अस्वीकार गर्दै आएका थिए सुरुदेखि नै । यो घटनाले विशेष गरी ब्राजिलमा निकै चर्चा पाएको थियो । नेइमारले आफू निर्दोष रहेको भन्दै इन्स्टाग्राममा सात मिनेट लामो भिडियो सन्देश जारी गरेका थिए । यस्तै ती महिलासँगका ह्वाट्सएप म्यासेजहरु पनि जारी गरेका थिए ।
आरोप लगाउने महिला त्यसपछि टेलिभिजन अन्तर्वार्तामा गइन् । उनले सो अन्तर्वार्ताको क्रममा आफूले नेइमारसँग यौन सम्बन्ध कायम गर्न चाहेको तर बलात्कारमा परेको बताएकी थिइन् । तर नेइमारले भने आफूहरुबिचको यौन सम्बन्ध सहमतिमा भएको बताएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २५ बुधबार
Comments