काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा तीन स्टार खेलाडी बिना पनि पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जित निकालेको छ । बार्सिलोना फर्किने चाहमा रहेका नेइमारलाई सम्भावित बहिर्गमनका कारण प्रशिक्षकले खेलाएका छैनन् ।
यस्तै एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण मैदान बाहिर छन् । तर पनि शुक्रबार राति भएको खेलमा पिएसजीले मेट्जलाई २–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा पिएसजीका लागि एन्जल डी मारिया र एरिक म्याक्सिम चुपो–मोटिङ्गले गोल गरेका हुन् ।
११ औँ मिनेटमा पाएको पेनाल्टीमा डी मारियाले गोल गरेर पिएसजीलाई सुरुवाति अग्रता दिलाए । एरिकले ४३ औँ मिनेटमा गोल गरेपछि पहिलो हाफमा नै पिएसजीले २–० को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र पिएसजी विजयी भयो ।
यो खेल होमोफोबिक ब्यानरका कारण केहीबेर रोकिएको थियो । मेट्जका समर्थकले होमोफोबिक ब्यानर प्रदर्शन गरेपछि खेल केहीबेरका लागि रोकिएको थियो ।
पछिल्लो तीन दिनमा फ्रेन्च लिग वानमा होमोफोबिक प्रदर्शनका कारण खेलमा केही समय प्रभाव परेको यो दोस्रो पटक हो । यसअघि निसको मार्सेइलीसँगको खेलमा पनि यस्तै घटना भएको थियो ।
एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १४ शनिबार
Comments