काठमाडौँ ।भारतमा जारी साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भारतसँग फराकिलो गोलान्तरले पराजित भएको छ । पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपमा नेपालले भारतसँग ५–० गोलको फराकिलो हार ब्यहोरेको हो ।
कल्याणी रङ्गशालामा बुधबार भएको खेलमा आयोजक भारतले खेलको पहिलो हाफमा तीन गोल तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । भारतका लागि महेसन, सुभो पाउ, अनिश मजुमदर, तैसन सिंह र श्रीदर्थले गोल गरेका थिए ।
भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले । त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४ औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३ औँ मिनेटमा एक गोल थपे । त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९ औँ मिनेटमा गोल गरे भने श्रीदर्थले खेलको ५६ औँ मिनेटमा गोल गरे ।
नेपालले हालसम्म यू–१५ साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, श्रीलङ्का र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा सञ्चालन भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् । नेपालले अब यही भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ । त्यस्तै नेपालले आफनो तेस्रो खेल भदौ २० गते बङ्गलादेशसँग खेल्नेछ भने अन्तिम खेल भदौ १२ गते भुटानसँग खेल्नेछ ।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments