काठमाडौँ ।अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र पार्चुगिज कप्तान खेलाडी क्रिष्टियानो रोनाल्डोबीचमा को उत्कृष्ट भन्ने विषयमा विगत १ दशकयता ठूलै बहस चल्दै आएको छ । यी दुईबीचमा खेलाडीदेखि प्रशिक्षकसम्म तथा समर्थकदेखि विश्लेषकसम्म सबैले एक–एक वटा आधार लिएर तुलना गर्दै आएका छन् ।
धेरैले बार्सिलोनाबाट व्यवसायीक फुटबल खेलिरहेका मेस्सी तथा युभेन्टसका स्टार खेलाडी रोनाल्डोबीच को उत्कृष्ट भन्ने विषयमा आ–आफ्नो धारणा राख्दै आएका छन् । खास गरी यी दुई हस्तीबीच गोल संख्या, विभिन्न रेकर्डदेखि उपाधिमा समेत प्रतिस्पर्धी हुन् । मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा मैदानभित्र मात्र नभएर विभिन्न अवार्ड तथा फ्यान फलोइङमा पनि उत्तिकै छ ।
यसैकारण त यी दुई खेलाडीबीच मैदानमा र मैदानबाहिर को उत्कृष्ट भन्ने कोणबाट अनेकौं टिकाटिप्पणी र तुलना हुने गरेका छन् । बेला–बेला फुटबल क्षेत्रका विभिन्न व्यक्तिहरू तथा अध्यनन–सर्वेक्षणले अनेक दृष्टिबाट यीमध्ये को उत्कृष्ट भन्ने धारणा बनाउने गरेका छन् । उनीहरूबीचमा सधैं को उत्कृष्ट भन्ने विषयमा फुटबल विशेषज्ञहरू आ–आफ्नै धारणा राख्छन् ।
यी दुई खेलाडीमा प्रतिष्ठित अवार्ड बालोन डी‘ओरमा पनि प्रतिस्पर्धा नै छ । पछिल्ला १० वर्षमा यी दुईले समान पाँच–पाँच पटक बालोन डी‘ओर जितेका छन् भने एक वर्ष यी दुवैलाई पछि पार्दै लुका मोड्रिकले जितेका थिए । मेस्सी र रोनाल्डो युरोपटका प्रतिष्ठित प्रतियोगिताका सर्वाधिक गोलकर्ता हुन् । हालसम्मको तथ्यांक हेर्दा रोनाल्डोले १ सय २६ गोल गरेका छन् भने मेस्सी रोनाल्डोभन्दा अलि पछि परेका छन् । मेस्सीले १ सय १२ गोल गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलतिरको कुरा गर्दा पनि मेस्सीभन्दा एक कदमअघि रोनाल्डो नै छन् । रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगललाई २ वटा ट्रफी दिलाएका छन् भने मेस्सी उपाधिबिहीन छन् । मेस्सीले तीन वटा उपाधिको नजिक अर्थात् फाइनलमा पराजित भएका छन् । तर, हालै आएको एक अध्ययनले रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट देखाएको छ ।
बेल्जियन विश्लेषकहरुको एक समूहको अध्ययनले बार्सिलोनोनाका स्टार मेस्सी युभेन्टसका स्टारभन्दा उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक गरेका छन् । बेल्जियमको चर्चित मिडिया स्पोर्जाका अनुसार बेल्जियन प्राध्यापकहरुले डच वैज्ञानिकहरुसँग समन्वय गरी भीएइफ सूत्र प्रयोग गरी यो नतिजा निकालेका हुन् ।
उनीहरुको सूत्रले खेलाडीको ‘अल राउण्ड’ खेल हेर्ने र उनीहरुले गर्ने डिफेन्स कार्यहरुको समेत अध्ययन गर्ने कार्य गरेको थियो । सूत्र प्रयोग गरी अध्ययन गरेपश्चात उनीहरुले रोनाल्डोभन्दा मेस्सी नै उत्कृष्ट रहेको निष्कर्ष निकालेका थिए । निष्कर्षमा उनीहरुले मेस्सी उत्कृष्ट ड्रिबलर भएको र मैदानमा लगाव राख्ने खेलाडी भएकाले रोनाल्डोभन्दा उनी उत्कृष्ट रहेको बताए ।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments