काठमाडौं । भारतीय युवा खेलाडी शुभमन गिलले वेस्टइन्डिज ए विरुद्ध दोहोरो शतक बनाउदै नयाँ रेकर्ड बनाएका छन् । वेस्टइन्डिज ए विरुद्ध जारी अनधिकृत टेस्ट सिरिजमा गिलले २०४ रनको पारी खेल्दै यस अघि १७ बर्ष अगाडी गौतम गम्भीरले बनाएको रेकर्ड तोडेका हुन् ।
यो सँगै उनी फर्स्ट क्लास क्रिकेटमा भारतको तर्फबाट कम उमेरमा दोहोरो शतक बनाउने खेलाडी समेत बनेका छन् । गीलले १९ बर्ष ३३४ दिनमा यस्तो रेकर्ड बनाए । यस अघि गौतम गम्भीरले सन् २००२ मा २० बर्ष १२४ दिनमा प्रेसिडेन्ट एघारबाट खेल्दै जिम्बाबेका विरुद्ध दोहोरो शतक बनाएका थिए ।
साथै गिल भारत बाहिर विदेशी जमिनमा खेलिएको फर्स्ट क्लास क्रिकेटमा दोहोरो शतक बनाउने युवा खेलाडी समेत बनेका छन् ।
गिलले आफ्नो पारीमा २४८ बलमा १९ चौका र २ छक्का प्रहार गर्दै २०४ रन बनाएका थिए । यस खेलको पहिलो इनिंगमा गिल डक आउट भएका थिए । उनले पाँचौ विकेटका लागि हनुमा बिहारीसँग मिलेर ३१५ रनको साझेदारी गरेका थिए । हनुमा बिहारीले अनि विजित ११८ रन बनाएका थिए ।
प्रकाशित मितिः २०७६ साउन २४ शुक्रबार
Comments