काठमाडौं । ब्राजिलियन फरवार्ड ग्राबियल जीससलाई अन्तराष्ट्रिय फुटबलमा दुई महिनाको प्रतिबन्ध लागेको छ । म्यानचेस्टर सिटीका फरवार्ड जीससलाई कोपा अमेरिकाले दुई महिनाको प्रतिबन्ध लगाएको हो ।
कोपा अमेरिकाको फाइनलमा खेल भावना विपरित कार्य गरेको भन्दै उनलाई प्रतिबन्ध गरिएको हो । पेरुविरुद्धको फाइनलमा जीससले दुई पहेलो कार्डसहित रातो कार्ड पाएका थिए ।
रेफ्रीले रातो कार्ड देखाएपछि जीससले मैदानमा रेफ्रीसँग विवाद गरेका थिए । यस्तै मैदान बाहिरिदै गर्दा उनले असभ्य व्यवहार देखाउदै पानीको बोतललाई लात्तीले हिर्काएका थिए ।
फाइनलमा जीससले एक गोल गरेका थिए र,पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो ।
जीससलाई दुई महिनाको प्रतिबन्धसँगै २५ हजार पाउण्ड जरिवाना गरिएको छ । प्रतिबन्धसँगै जीससले आगामी महिना पेरु र कोलम्बियासँगको खेल गुमाउने भएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २३ बिहिबार
Comments