काठमाडौं । विश्वका सबैभन्दा महंगा फुटबलर नेइमार फ्रान्सेली क्लब पिएसजीमा खुशी नरहेका खबर लगातार आइरहेका छन् । उनी पुरानो क्लब बार्सिलोना फर्किन चाहेको या त्यो सम्भव नभए रियल मड्रिड जान चाहेको बताइन्छ ।
तर ट्रान्सफर विण्डो सकिने दिन नजिकिँदै जाँदा नेइमारको इच्छित ‘मुभ’ ले गति लिन सकेको छैन । उनी हाल पिएसजीको प्रशिक्षणमा छन् । गएको सिजनमा पदाधिकारीमाथि गरेको टिप्पणीका कारण निलम्बनमा परेका उनी खेल्न पाएका छैनन् । तर प्रशिक्षणमा उनको सहभागिता सक्रिय छ ।
पिएसजीको टिम ट्रोफी डेस च्याम्पियन्सका लागि चीनमा पुगेको थियो । जहाँ नेइमार बिनाको पिएसजीले रेनलाई पराजित गर्दै उपाधि जितेको छ । त्यसअघिको प्रशिक्षणमा पिएसजीका लियान्ड्रो पारेडेसले नेइमारको मजाक उडाएको जस्तो देखिएको छ ।
प्रशिक्षणमा रहेका लियान्ड्रोले मैदानमा लडेर नेइमारको जस्तै नक्कल गरेका हुन् । आफ्नो मजाक बनाउँदा नेइमार त्यहिँ थिए, अझ नेइमारसँगै ट्याकलमा लियान्ड्रो लडेका हुन् ।
विशेष गरी विश्वकप २०१८ को क्रममा नेइमार सामान्य ट्याकलमा पनि मैदानमा लडेर धेरैबेर समय बर्बाद गरेको तथा सामान्य अवस्थामा पनि असह्य पीडा भएको जस्तो गरेको भन्दै आलोचना भएको थियो । लियान्ड्रोले प्रशिक्षणको क्रममा त्यस्तै गरेको देखिएको छ ।
आफ्नो मजाक बनाएका लियान्ड्रोलाई नेइमारले नै उठाएका थिए, दुवै खेलाडी निकै हाँसिरहेको भिडियोमा देखिन्छ ।
Comments