काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामी रहेको विनिपेग होक्सले क्यानाडामा जारी दोस्रो संस्करणको ग्लोबल टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा भानकुभर नाइट्सलाई ७ विकेटले पराजित गर्दै होक्सले पहिलो जित निकालेको हो ।
नाइट्सले दिएको २०९ रनको लक्ष्य होक्सले १५ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । होक्सका लागि जेपी डुमिनीले अविजित ७७ तथा क्रिस लिनले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । ड्वाने ब्राभोले अविजित ३९ रन जोडे ।
नाइट्सका साद बिन जाफर, एडिले लक्की र अलि खानले १र१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नाइट्सले २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाएको थियो ।
नाइट्सका लागि क्रिस गेलले ४५ रन जोड्दा भान डेर डुसेनले ३९ रन जोडे । त्यस्तै एन्टोनियो वालटोनले ३० तथा सोयब मल्लिकले अविजित २८ रन बनाए । होक्सका रायद रायन इम्रिटले ३ विकेट लिए ।
नेपालका अलराउण्डर सोमपाल भने सोमबार मात्र टिममा सामेल हुनेछन् । सोमपाल आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको लागि नेपाली टिमसँग सिंगापुरमा रहेका थिए । जितसँगै होक्सले २ खेलबाट २ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा छ ।
प्रकाशित मितिः २०७६ साउन १३ सामेबार
Comments