काठमाडौँ । अर्जेन्टिनाका प्लेमेकर पाउलो डिबालाले यसै सिजनमा युभेन्टस छोड्ने भएका छन् । लामो समयको अन्योल पछि डिबालाले युभेन्टस छोड्ने निर्णय गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
पछिल्लो मिडिया रिपोर्टका अनुसार क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि युभेन्टसको प्राथमिकतामा नपरेका डिबालालाई प्रिमियर लिग क्लब टोटनह्यामले भित्र्याउने प्रयास गरेको बताइएको छ ।
च्याम्पियन्स लिगको उपविजेता रहेको टोटनह्यामका अर्जेन्टिनी म्यानेजर माउरिचिनो पोचेटिनोले डिबालालाई भित्र्याउने योजना बनाएको उल्लेख गरिएको छ ।
यस अघि युभेन्टसले म्यानचेस्टर युनाइटेडसँग पाउल पोग्वाको डिलमा डिबालालाई युनाइटेड पठाउने बताइएको भएपनि सो पहल सकारात्मक हुन सकेको छैन । युनाइटेड समेत डिबालाको बारेमा सकरात्मक भएपनि पोग्वामाथि रियल म्याड्रिडको समेत पहल भइरहेकाले युभेन्टससँग डिल हुन नसकेको बताइएको छ । तर युनाइटेडले समेत डिबालालाई भित्र्याउन अझै पहल गरिरहेको बताइएको छ ।
तर टोटनह्यामले भने डिबालालाई भित्र्याएर हेरी क्यानमाथिको दबाब अलि कम गर्न र प्रिमियर लिगको उपाधिमाथि आफ्नो सशक्त दाबेदारी पेश गर्न चाहेको बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ९ बिहिबार
Comments