काठमाडौं । नेपालको पुरुष राष्ट्रिय भलिबल टिमले भारतसंग तीन वटा मैत्रीपुर्ण म्याच खेल्ने भएको छ । साउनको दोस्रो साता नेपालले भारतको राष्ट्रिय भलिबल टिमसंग तीन वटा मैत्रीपुर्ण म्याच खेल्ने तय भएको हो ।
नेपाल भलिबल संघले श्रावण मसान्तमा नेपालमा हुन गईरहेको एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीका लागि मैत्रीपुर्ण खेलको आयोजना गर्न लागिएको हो ।
नेपाल भलिबल संघका सचिव मानविर छत्यालका अनुसार नेपालले साउन ९, १० र ११ गते काठमाडौंमा भारतसंग तीन वटा मैत्रीपुर्ण म्याच खेल्नेछ । ‘हामीले भारतसंग मैत्रीपुर्ण खेलको आयोजना गरेका छौ । एभीसी सेन्ट्रल जोन भलिबललाई लक्षित गरेर मैत्रीपुर्ण खेल राखिएको हो ।’
एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको नयाँ संस्करण काठमाडौंमा आयोजना हुन गईरहेको छ । प्रतियोगिता साउन ३२ गतेबाट भदौ ८ गतेसम्म काठमाडौंमा सञ्चालन हुदैछ । प्रतियोगिताको तयारीका लागि भलिबल संघले सचिवालय गठन गरेर तयारी समेत अघि बढाएको छ ।
नेपालमा हुन लागेको प्रतियोगितामा ७ राष्ट्रले सहभागीता जनाउने तयारी गरेका छन् । प्रतियोगिताका लागि नेपाली पुरुष भलिबल टिम अहिले दैनिक अभ्यासमा रहेको छ । नेपाली टिमले प्रतियोगिताका लागि ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा दैनिक अभ्यास गरिरहेको छ ।
नेपाली राष्ट्रिय टिमलाई डच प्रशिक्षक हान एबिङले प्रशिक्षण दिईरहेका छन् । नेपालमा हुन लागेको एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबलका लागि नेपाली टिम तयार गर्न उनी काठमाडौं आएका थिए । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआईभीभी)ले एबिङलाई बिशेष प्रशिक्षकको रुपमा नेपाल पठाएको हो ।
प्रकाशित मितिः२०७६ असार २३ सोमबार
Comments