काठमाडौँ । कोपा अमेरिका फुटबल यो संस्करण पनि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि खराब रह्यो।
यसअघिका दुई संस्करणमा फाइलनमा पराजित हुँदाको पीडा भुलेर मेस्सी कप्तानीको अर्जेन्टिना ब्राजिलमा जारी प्रतियोगितामा सहभागी भयो । सेमिफाइनलमा पुगेको अर्जेन्टिना त्यहाँबाट अघि जान सकेन ।
आयोजक ब्राजिलले उसलाई पराजित गर्यो । तर अर्जेन्टिनाका लागि अर्को मौका थियो, दुई संस्करणको फाइनलमा बेहोरेको हारको बदला लिने चिलेसँग । तेस्रो स्थानका लागि शनिबार राति भएको प्ले अफमा अर्जेन्टिनाले बदला लियो पनि, उसले चिलेलाई २–१ ले पराजित गर्न सक्यो ।
तर यो खेल अर्जेन्टिनाको जितका कारण भन्दा पनि उसका कप्तानले पाएको रातो कार्डका कारण चर्चामा छ । खेलको ३७ औँ मिनेटमा चिलेका ग्यारी मेडेलसँगको तनावपूर्ण ट्याकलका कारण मेस्सी र ग्यारी दुवैले रातो कार्ड पाए ।
फुटबल पण्डितहरु मेस्सीले रातो कार्ड पाउन नहुने पनि बताइरहेका छन् । तर खेलका क्रममा दुवै खेलाडी आक्रोशित भएका थिए र एक अर्कासँग आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।
मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड हो । उनले १४ वर्षअघि सन् २००५ मा अर्जेन्टिनाबाट डेब्यु गरेको खेलमा रातो कार्ड पाएका थिए ।
रातो कार्ड पाएका मेस्सी तेस्रो स्थानका लागि भएको मेडल वितरणमा सहभागी नभएको समाचार संस्था रोयटर्सले जनाएको छ । उनले त्यसपछि प्रतियोगिता आयोजक दक्षिण अमेमरिकन फुटबल कनफेडेरेसन (कोनमेबोल) को आलोचना गरेका छन् । उनले कोनमोबेललाई भ्रष्ट भनेका छन् ।
मेस्सीले भनेका छन्, ‘हामी यो भ्रष्ट प्रक्रियाको अंश बन्नु आवश्यक छैन । उनीहरुले यो प्रतियोगिताभर हामीप्रति कुनै सम्मान दर्शाएनन् ।’
मेस्सीले भने, ‘दुःखको कुरा, भ्रष्टाचार तथा रेफ्रीहरुले दर्शकलाई फुटबलको मजा लिन दिएनन्, उनीहरुले केही हदसम्म प्रतियोगितालाई नै नष्ट गरे ।’
मेस्सीले त्यो भन्दा गम्भीर आरोप लगाए । दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकायले यसपटकको ट्रफी आयोजक ब्राजिलका लागि ‘फिक्स’ गरेको मेस्सीको आरोप छ ।
उनले भने, ‘मलाई लाग्छ उनीहरुले यसपटकको कप ब्राजिलका लागि फिक्स गरेका छन् । मलाई आश छ कि फाइनलमा भिएआर र रेफ्रीले केही गर्ने छैनन् र पेरुले प्रतिस्पर्धा गर्न पाउने छ । पेरु प्रतिस्पर्धा गर्न सक्ने टिम हो, तर त्यसको सम्भावना देख्दिन ।’
अर्जेन्टिना चार दिनअघि भएको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो २–० ले । सो सेमिफाइनलमा आफूहरुले कम्तिमा एउटा पेनाल्टी पाउनु पर्ने अवस्था रहेको भए पनि रेफ्रीले नदिएको मेस्सी तथा अर्जेन्टिनी टिमको आरोप रहँदै आएको छ । दुई सम्भावित पेनाल्टीका लागि भिएआरको प्रयोग नगरिएकोमा अर्जेन्टिना आक्रोशित थियो ।
मेस्सीले आफूले पाएको रातो कार्डका सम्बन्धमा भने, ‘देखिहाल्नु भयो के भयो, एउटा पहेँलो कार्ड उपयुक्त हुने थियो त्यो घटनाका लागि, तर हामी दुवैले रातो कार्ड पायौँ । तर १० खेलाडीमा सीमित भएर पनि हामीले जित निकाल्यौँ, यो खुशीको कुरा हो ।’
रेफ्रीले यो खेलमा ६ वटा पहेँलो कार्ड देखाए । खेलको क्रममा ३७ वटा फउल भएको थियो ।
कोपा अमेरिकाको फाइनल खेल नेपाली समय अनुसार सोमबार बिहान पौने दुई बजे सुरु हुनेछ ।
Comments