काठमाडौँ । बार्सिलोनाका मिडफिल्डर राफिन्हाले नेयमार पुर्व क्लबमा फर्किनेमा आशावादी रहेको बताएका छन् । उनले ब्राजिली स्टारको आगमनसंगै क्बलमा लियोनल मेस्सी, नेयमार र लुईस स्वारेजको जादु पुन स्थापित हुने बताएका हुन् ।
२७ बर्षका नेयमार पछिल्लो समय क्याम्प नाउसंग जोडिएका छन् । दुई बर्ष अघि उनी २ सय २२ मिलियन युरोमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी गएका थिए । ब्राजिली स्टारले पीएसजीमा ५८ खेलमा ५१ गोल गरेका थिए ।
उनकै प्रेरणादायी प्रर्दशनमा पीएसजीले लगातार दुई सिजन घरेलु लिग जितेको थियो । तर च्याम्पियन्स लिगमा भने पीएसजी पछिल्लो सिजन म्यानचेष्टर युनाईटेडसंग पराजित भएको थियो । अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजी म्यानचेष्टर युनाईटेडसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो । बार्सिलोनाका मिडफिल्डर राफिन्हाले नेयमारलाई स्वागत गर्न आफुहरु तयार रहेको बताएका छन् ।
नेयमारले बार्सिलोनामा बिताएको चार सिजनमा १ सय ५ गोल गरेका थिए । त्यो समय मेस्सी, स्वारेज र नेयमारले युरोपेली क्लब फुटबलमा तहल्का मच्चाएका थिए । ‘मलाई लाग्छ उनी फर्कनेछन् । उनी निकै राम्रा खेलाडी हुन् । उनी बार्सिलोनाका लागि उपयुक्त छन् ।’ स्पेनिस मिडफिल्डरले भनेका छन् । ‘मैले मेस्सी, नेयमार र स्वारेजको जस्तो जादु अन्त देखेको छैन । आशा गरौ ग्रिजम्यान समेत आउनेछन् ।’ उनले भनेका छन् ।
पछिल्लो समय नेयमार र ग्रिजम्यान बार्सिलोनासंग जोडिएका छन् । तर राफिन्हा लगायतका खेलाडीहरु क्लब छाड्ने तयारीमा छन् । राफिन्हाको क्लबसंगको सम्झौता सन् २०२० मा सकिदैँछ ।
राफिन्हालाई स्पेनिस क्लब भ्यालेन्सियाले अनुबन्धनको प्रयास गरिरहेको छ । तर २६ बर्षका मिडफिल्डर क्लबमै बस्न चाहन्छन् । ‘म आफुलाई अर्को सिजन बार्सिलोनामै चाहन्छु । यही भित्र रहेर प्रतिस्पर्धा गर्न चाहन्छु ।’ उनले भनेका छन् ।
‘म फुटबल खेल्न चाहन्छु र बार्सिलोना मेरो घर हो । क्लबसंग मेरो अनुबन्धन अझै बाँकी छ । मलाई आफैमा धेरै विश्वास समेत छ ।’ उनले थपेका छन् । नेयमार र ग्रिजम्यानबिना समेत बार्सिलोनाले पछिल्लो सिजन ला लिगाको उपाधि जितेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ असार २० शुक्रवार
Comments