काठमाडौँ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज शुक्रबार एक खेल हुँदैछ । चेस्टरमा हुने खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा सुरु हुनेछ ।
दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रदा श्रीलंका जित निकाल्दै सेमिफाइनलको आशा जीवित राख्ने योजनामा हुनेछ । श्रीलंकाको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना रहेको छ ।
श्रीलंकाले ६ खेलमा ६ अंक जोडेको छ । र, श्रीलंका तालिकाको सातौं स्थानमा छ । श्रीलंकालाई शीर्ष ४ मा स्थान रहदै सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न यस खेल महत्वपूर्ण रहेको छ ।
विश्वकपको आशा कायम राख्न श्रीलंकालाई जित अत्यावश्यक रहेको छ । दक्षिण अफ्रिकासंग पराजित भए श्रीलंका विश्वकपबाट बाहिरिनेछ । दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरिसकेको छ । श्रीलंकाविरुद्धको खेल दक्षिण अफ्रिकाका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।
दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंक जोडेको छ । र, अंक तालिकाको नवौं स्थानमा छ । दुईबीचको पछिल्लो पाँच भेटमा भने दक्षिण अफ्रिका बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिकाले पाँचै खेल जितेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असार १३ शुक्रबार
Comments